‘चिन्ता छाडौं, साहसी बनौं’

Priyankaलन्डन, जेष्ठ १ - घुमघाम, साक्षात्कार र केही नयाँ अनुभव। फर्कंदा साथमा लाने कत्ति सपना थिए। बेलायत आउने अन्तिम तयारी भइरहँदा महाप्रलय आइलाग्यो। मुलुक र नागरिक संकटमा फसिरहेको बेला अभिनेत्री प्रियंका कार्कीलाई बेलायत आएर शो गर्ने मुड नै थिएन। कार्यक्रम रद्द गर्न लागेकी उनलाई आयोजकले अनुनय गरे, ‘तय भइसकेको कार्यक्रम च्यारिटीमा बदलौंला, प्लिज, आउनुस्।’
उनी आइन्, तीन शो पनि भइसके। आर्थिक संकलन पनि जारी छ। तर, बेलायतमा रहे पनि, उनकै शब्दमा, घर परिवार, देश र साथीभाइको चिन्ताले उनलाई पिरोलिरहेको छ। घुमघामतिर जाँगरै छैन।
‘नर्मल लाइफ हुँदै थियो, फेरि एक्कासि (मंगलबार) थप शक्तिशाली भूकम्पको क्रूरताले मन छियाछिया बनाएको छ’, बिहीबारको भेटमा प्रियंकाले भनिन्, ‘देश विपत्तिले जेलिँदा म मात्र खुसी हुने त कुरै भएन।’
जे नहुनु थियो, भइसकेको छ। पुरानै पीडाले सधैं चिन्तित भएर बसिरहन आवश्यक ठान्दिनन् प्रियंका। ‘अब हामी आफूलाई बलियो बनाएर अगाडि बढ्नुपर्छ’, डेढ दर्जन बढी फिल्मकी अभिनेत्रीले सुझाइन्, ‘आफूलाई सम्हाल्न सकिएन भने त मानसिक स्वास्थ्यसमेत बिगार्न सक्छ। कृपया, अब चिन्तित भएर होइन साहसले अगाडि बढौं।’
बेलायत आउँदा प्रियंकाले अरू केही नगरे पनि लन्डनको चिनो स्वरूप फोटो सुट भने गर्न भ्याइन्। लन्डनका व्यावसायिक फोटोग्राफर कुशल श्रेष्ठसँग उनले लन्डनब्रिज, लन्डन आइ जस्ता केन्द्रमा तस्बिर खिचाइन्।
‘लाइफ टाइम मेमोरीको लागि अरू केही नभए पनि फोटोसुट भने गरें’, उनले सुनाइन्, ‘बित्यास नहुँदो हो त लन्डनमा व्यवसायसम्बन्धी अरू अनुभव लिने सपना साँचेकी थिएँ, जुन सम्भव भएन।’
आउँदो सोमबार नेपाल फर्किएपछि राहत तथा उद्धारमा खटिने योजना छ प्रियंकाको। आफ्नो पछिल्लो फिल्म ‘नाईं नभन्नु ल ३’ चल्दै गर्दा देशमा त्यस्तो अकल्पनीय विपत्ति आएपछि आफ्नो मात्रै होइन, समस्त फिल्म उद्योग नै धराशायी छ।
‘तर, मलाई त्यसबाट कत्ति पश्चात्ताप छैन,’ उनले चित्त बुझाइन्, ‘फिल्म क्षेत्र केही महिना रोकिए पनि केही हुन्न, हामी सबै कलाकार अब देश पुनर्निर्माणमा आ–आफ्नो तर्फबाट लाग्नुपर्ने खाँचो छ।’
प्रियंकासहित बेलायत आएका गायिका अञ्जु पन्त र गायक शिव परियारले पीडितहरूका लागि प्रत्येक शोमा आर्थिक संकलन गरिरहेका छन्। आइतबार अन्तिम शो उलबिचमा सकिएपछि संकलित रकम एकमुष्ट पठाउने आयोजकको योजना छ।
 प्रकाशित मिति: २०७२ जेष्ठ १ १०:५७ 

,

0 comments

Write Down Your Responses