रातभरि मन भारी हुन्छ
नेपालमा भूकम्प आउँदा म अमेरिकामा थिएँ। भूकम्पले महाविपत्ति ल्याएपछि नेपाल फर्केर राहत संकलन तथा वितरणमा लागेको छु। अधिकांश कलाकार यसैमा लागेका छन्।
कतिपयले कलाकार आफैंले चाहिँ कति योगदान गरे त भन्ने गरेका छन्। मैले भूकम्पपीडितका लागि व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ चलचित्रकर्मी भूकम्पपीडित राहत तथा सहयोग समितिमार्फत प्रदान गरेको छु। मेरो पहलमा मैले अभिनय गरेका चलचित्र 'भुलभुलैया'बाट एक लाख एक हजार र 'ठूली'बाट ५१ हजार रुपैयाँ प्राप्त भएको छ।
राहतका क्रममा विभिन्न ठाउँमा गएँ। सबैमा पीडा छ। पीडा धेरै थोरै भन्ने त हुँदैन। तापनि आफ्ना ससाना छोराछोरी, श्रीमान् वा श्रीमती गुमाएकाहरू बढी भावविह्वल भएको देखेँ।
भत्केका घर बन्लान्, गुमेका सम्पत्ति कमाउँलान् तर परिवार गुमाउनु परेको पीडा कसरी भुल्ने? राहतका लागि दिनभरि हिँड्दा त्यहाँ देखिएका दर्दनाक दृश्य र पीडाले रातभरि मन भारी हुन्छ।
जुटको बोरा ओडेर बसेका छन्। बाटोमै काजक्रिया गरिरहेका छन्। कुखुराको खोरमा रात बिताउन बाध्य छन्। अधिकांश भूकम्पपीडितको गुनासो र आक्रोश 'सरकार खोइ' भन्नेमा छ।


0 comments
Write Down Your Responses