चालु शैक्षिक सत्रमा निःशुल्क शिक्षा देऊ : क्रान्तिकारी

३० वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भूकम्पपीडित विद्यार्थीहरुलाई सार्वजनिक तथा नीजि विद्यालय र कलेजहरुमा चालु शैक्षिक सत्रमा निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गरेको छ ।
नुवाकोटका भूकम्प पीडितलाई अखिल क्रान्तिकारीले बनाइदिएको टहरो । तस्वीर सौजन्य : सुरेन्द्र बस्नेत
नुवाकोटका भूकम्प पीडितलाई अखिल क्रान्तिकारीले बनाइदिएको टहरो । तस्वीर सौजन्य : सुरेन्द्र बस्नेत
बिनासकारी भूकम्प र बाढीपहिरोले अभिभावक गुमाएका सबै बालबालीका र विद्यार्थीहरुलाई आवासीय सुविधासहितको शिक्षाको ग्यारेन्टी गर्न पनि क्रान्तिकारीले माग गरेको छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले बुधबार विज्ञप्ति निकालेर विद्यालयको भौतिक आधार र बालबालिका एवम् विद्यार्थीहरुको मनोवैज्ञानिक आधार खडा गरेर कक्षा संचालन गर्न माग गरेका छन् ।
विद्यालय, क्याम्पस र विश्वविद्यालयको क्षतिग्रस्त भौतिक संरचना मर्मत तथा निर्माणको कामलाई प्राथमिकता दिन, भौतिक संरचनालाई भूकम्प प्रतिरक्षात्मक प्रविधिबाट निर्माण गर्न र प्रभावितहरुको आधारभूत मानवीय आवश्यकताको सम्वोधन गर्न माग गरिएको छ । साथै संस्थागत विद्यालयले बढाएको शुल्क फिर्ता गर्ने लगाएत नेपाल सरकार शिक्षा मन्त्रालयसंग र संयुक्त विद्यार्थी आन्दोलनको सँग भएका १० बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन गर्न माग गरिएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार र पुनर्वासको व्यवस्था मिलाउन अखिल क्रान्तिकारी खटिदै आएको छ ।

source- onlinekhabar.com

0 comments

Write Down Your Responses