भूकम्पले भोटेकोशी जलविद्युतमा ५ अर्बको क्षति

३० वैशाख, काठमाडौं । अघिल्लो शनिबार गएको विनाशकारी भूकम्पले भोटेकोशी जलविद्युत आयोजना पुरिएको छ । आयोजनाको पावर हाउसमा पानी पठाउने पाइपहरु फुटेर संरचना बगेपछि करिव ५ अर्ब रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
Bhotekoshi-Hydropower‘आयोजनास्थल अहिले बगरमा परिणत भएको छ’ सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालले अनलाइनखबरसँग भने- ‘पावर हाउस पुनर्निर्माण गरी सञ्चालन गर्नका लागि एक बर्ष लाग्ने देखिन्छ ।’ सिप्रदी भोटेकोशी आयोजनाको प्रमुख लगानीकर्ता हो ।
वैशाख १२ गते गएको पहिलो झड्काले ठूला ढुंगाहरु झरेर आयोजनाका पाइपहरु कुच्चिएका थिए । दोस्रो दिन गएको भूकम्पबाट झनै ठूला ढुंगाहरु झरेर पाइप ध्वस्त भएको दाहालले बताए ।
पाइप ध्वस्त भएपछि करिव ४ किलोमिटर टनेलमा जमेको पानी जोडले पावर हाउसमा पसेपछि आयोजना बगरमा परिणत भयो । ‘पहिलो दिनको भूकम्पपछि ड्याम बन्द गरिएको थियो, तर दोस्रो दिन पाइप फुटेर टनेलमा जम्मा भएको पानी र लेदो जोडले बगेर पावर हाउसमा पसेपछि सबै संरचना बगाइदियो’ दाहालले भने ।
आयोजनाको बिल्डिङ देखिए पनि भित्रका औजारहरु बगेका छन् । आयोजनाको पावर हाउसमा अन्डरग्राउन्ड ४ तला रहेको थियो । त्यो ४ तला माथिबाट जोडले आएको लेदोयुक्त पानीले भरिएको छ । पावर हाउसा ठूला ढुंगा र माटोले पुरिएको अवस्थामा छ ।
कूल ४५ मेगाबाट क्षमताको यो आयोजना बगरमा परिणत भएको हुँदा कहालीलाग्दो अवस्थामा देखिएको दाहालले बताए । दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू बनाएर भूकम्पका ठूला झड्का गएपछि सो क्षेत्रमा पहिरो गइरहेको छ ।

0 comments

Write Down Your Responses