सिन्धुपाल्चोकलाई आएको राहत व्यापारीको गोदाममा, बिष्णु खत्री भन्छन्-बाटो अबरुद्ध भएकाले काठमाडौंमै राखिएको हो

१ जेठ, चौतारा । सिन्धुपाल्चोकका भूकम्प पीडितहरुको लागि ल्याइएको दुई गाडी राहत सामाग्री बिचबाटोमै तातोपानी नाकाका व्यापारीहरुले आफ्नो निजी गोदाममा लगेर राखेको रहस्य खुलेको छ ।
फाइल तस्वीर
फाइल तस्वीर
जिल्लाको फुल्पिङडाँडा गाविसको लागि नेपालगञ्ज उद्योग वाणिज्य संघले ल्याएको राहत सामग्री निजी व्यापारिक गोदाममा राखिएको हो ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष विष्णु खत्रीको निजी व्यापारीक गोदाम काठमाडौंको सानो भर्‍याङमा राहत सामाग्री राखिएको खुलेको छ ।
‘बाटो अवरुद्ध छ, अहिले राहत वितरण गर्न सकिदैन,’ भन्दै सामान उतै राखिएको हो ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण श्रेष्ठले भने नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य राजेन्द्रकुमार श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमल श्रेष्ठ र सीमापारका अध्यक्ष विष्णु खत्रीलाई सामग्री जिम्मा लगाएका थिए ।
‘अहिले बाटो अवरुद्ध छ, राहात वितरण गर्न सकिँदैन भन्ने जानकारी आएपछि मैले उहाँहरुलाई राहात सामग्री हस्तान्तरण गरेको हु,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।
नेपालगञ्ज उद्योग वाणिज्य संघले ३ सय थान त्रिपाल, ७ हजार किलो चामल, ५ सय किलो दाल लगायतका राहत सामाग्री प्रदान गरेको थियो । नेपालगञ्ज उद्योग वाणिज्य संघले सबैसँग राहत संकलन गरेर सिन्धुपाल्चोकका पीडितहरुका लागि भनेर पठाएको थियो ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खत्री भने बाटोमा समस्या भएकाले आफूले सामान लिएर राखेको दावी गरेका छन् ।
‘मंगलबारको भूकम्पले बाटो अवरुद्ध भयो त्यही भएर साथीहरुले सामान मलाई जिम्मा लगाएका हुन्,’ खत्रीले भने ।
तर फुल्पिङडाँडा जाने बाटो भने अवरुद्ध नभएको स्थानीय सञ्चारकर्मी समेत रहेका नानीराम नेपालले जानकारी दिए ।

source- onlinekhabar.com

0 comments

Write Down Your Responses