यार्शा टिप्न जादाँ एकको ज्यान गयो


पंकज धामी, दार्चुला । बहुमूल्य जडिबुटीका रुपमा चिनिएको यार्शागुम्बु दार्चुलाका तीन दर्जन पाटनहरुबाट सङ्कलन गरिदै छ । चाइनिज क्याटरपिल फन्गसका रुपमा विश्वमा चिनिने यार्शागुम्बु यो वर्ष आधा दर्जन गाविसका तीन दर्जन पाटनमा टिपिन लागेको हो ।
अन्य वर्षहरु झै यो वर्ष पनि खण्डेश्वरीका धनसेरा, धरमधर, धानकुन्ने, अन्निखाना, बाथालेक, कालागाढ जस्ता पाटनहरुमा यार्शा सङ्कलन गर्न हजारौं सङ्कलकहरु पुगेका छन् । त्यसैगरी सितोलाका चाइमटेला, बङ्गे, ताल, दुदिसैन, सिद, भल्ल्या, फुल्टिपन, अफरे, स्याक्वाखानी र फापुमा पनि यार्शागुम्बु सङ्कलन गर्न दार्चुला र दार्चुलाबाहिरका सङ्कलकहरुको भीड लागेको सितोलाका स्थानीय मदन देउरुखीले जानकारी दिनु भएको छ ।
राप्लाका यार्शा पाइने पाटनहरु दुदिवन, स्याङ्पा, स्याङ्दर्मा, तिल्छडे, घट्टेधार र नान्थामा पनि सङ्कलकहरु पुगेका छन् । दुदिवनमा राप्लाका स्थानीयबासीबाहेक अन्यलाई सङ्कलन गर्न दिइदैन भने यो क्षेत्रमा राप्लाका बासीका नातेदार भारतीय नागरिकलाई सङ्कलन गर्न दिइने तर नेपालीलाई नदिइने भन्दै बिरोध पनि हुने गरेको छ ।
त्यसैगरी बझाङ्सँग सीमा जोडिएको गुल्जर गाविसको धुलिलेक वा धनसेरा भनिने वनमा दार्चुलाका र बझाङ्का सङ्कलकहरु पुगेको गुल्जरका स्थानीय धनसिह धामीले बताउनु भयो । उता सबैभन्दा बढि यार्शागुम्बु पाइने घुसा गाविसको सत्गंगा, रोखा, लोलु, तालगाढ, बिसान जस्ता पाटनहरुमा पनि हजारौं सङ्कलकहरु पुगेको स्थानीयहरु बताउँछन् ।
व्याँस गाविसका अपि, नाम्पा, होलिङ्, बुदिगढा, पोला र हुम्दुम्लीमा पनि सयौं सङ्कलकहरु पुगेका छन् । व्याँसको अपि र नाम्पा पाटनमा स्थानीय सौका समुदायका नागरिकहरुबाहेक अन्यले यार्शा सङ्कलन गर्न नपाउने गरी स्थानीयले नियम बनाएका छन् । स्मरण रहोस् अपिनाम्पा संरक्षण क्षेत्रका २० गाविसमा गाउँ स्तरीय उपभोक्ता समिति गठन भई सक्दा पनि व्याँस गाविसमा समिति गठन हुन सकेको छैन ।
यी पाटनहरुमा वर्षौदेखि यार्शा सङ्कलकहरु जाने गरेको र वर्षैपच्छिे झैझगडा हुने गरेको घटनाहरु सार्वजनिक हुने गरेपनि यो वर्ष हालसम्म झैझगडा भएको खवर नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बिगत वर्षहरुमा सीमाका कारण बिवाद हुने चाइमटेला, धुल्लेक क्षेत्रमा यो वर्ष विवाद भएको घटनाहरु पनि सार्वजनिक भएका छैनन् । केही वर्ष पहिले धेरै ठाउँहरुमा सीमा बिवाद हुने गरेका भएपनि हालका वर्षहरुमा सीमाना कै कारण खासै बिवाद हुने गरेको नपाइएको खार गाविस वडा नं ९ का स्थानीय तथा यार्शा सङ्कलक मानसिह ठगुन्ना बताउनु हुन्छ ,
यसै बिच यार्सा सङ्कलन गर्न जाने क्रममा आज एक जनाको मृत्यु भएको छ । दार्चुलाको हिकिला गाविस वडा नं.१ का ५० वर्षीय विरसिह बडालको हिकिला गाविस वडा नं ९ छाङ्का मेलामा आज मृत्यु भएको हो । मृतक बडालमा राप्लाको तिल्छोडे वनमा पेट दुख्ने, बान्ता हुने लगायत लक्षण देखिए पछि उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको हो ।
यार्सा सङ्कलनका लागि सङ्कलन क्षेत्रमा सामल पु¥याएर घर फर्कने क्रममा बाटोमै बिरामी परेका बडालको आज विहान ६ वजे हिकिलाको छाङ्का मेलमा मृत्युभएको हो । मृतक बडालका तीन छोरा, तीन छोरी रहेका छन् । @ रेडियो नयाँ नेपाल,
source - > > http://www.newsabhiyan.com/archives/44774

0 comments

Write Down Your Responses