एउटै देशका दुई तस्बिर


charikot
मंगलबारको भूकम्पले सर्वस्व गुमाएकी दोलखा सुनखानीकी महिला सम्पतिको नाममा एउटा पोको बोकेर अस्थायी शिविरतर्फ जाँदै निमुखा जनताका लागि बोलिदिनुपर्ने सभासद्ले आफैं भूकम्पपीडित हौं भनेर संविधानसभा सचिवालयबाट बाँडिचुँडी पाल लगे, चर्को विरोध भएपछि तत्काल फिर्ता गर्न बाध्य भए काठमाडौं, वैशाख ३१ – काठमाडौंबाट ६ घन्टाको मोटरसाइकल यात्रापछि दोलखाको चरिकोट पुग्दा बुधबार मध्याह्न बजार सुनसान थियो । सडकका दुवैतिरका धेरै घर भत्किएका थिए, केही भासिएका थिए । सग्ला देखिने भवन पनि पुरै चर्किएका देखिन्थे । चरिकोटका कुनै पनि भवन सग्ला थिएनन् । मंगलबारको भूकम्पले केन्द्रबिन्दु बनाएको सुनखानी पुग्नु थियो हामीले, त्यसैले सुनसान चरिकोट बजारमा धेरै रोकिएनौं । भत्किएका भवनका भग्नावशेष नियाल्दै अघि बढ्यौं । पाँच किलोमिटर यात्रापछि हामी दोलखाको व्यस्त बजार पाखालाती पुग्यौं । बजार पूरै भग्नावशेषमा परिणत भएको थियो । सग्ला घर कुनै थिएनन् । घरका निदाल र जस्तापाता यत्रतत्र छरिएका थिए । भग्नावशेषभन्दा ठीक अघिल्तिरको चौरमा स्थानीइ बासिन्दा टोलाइरहेका देखिन्थे । भत्किएपछि पुरिएका अन्नपात तथा धनमाल निकाल्ने आँट उनीहरुले गर्न सकिरहेका थिएनन् । पाखालातीका केही फोटो लिएपछि अघि बढ्यौं । जतिजति अगाडि बढ्थ्यौं, भत्किएका घरहरु झन धेरै देखिँदै थिए । मानिसको चहलपहल देखिदैंन्थ्यो । करिब एक घन्टाको यात्रापछि हामी सुकुम्बासी बस्ती राम्पा पुग्यौं । यहाँका घरहरु पुरै भत्किएका थिए । केही स्थानीय बासिन्दा टेन्ट टाँगेर बसिरहेका थिए, धेरैले त्यो पनि पाएका थिएनन् । उजाड र उराठलाग्दो देखिन्थ्यो राम्पा । पीडितहरुसँग कुरा गर्न खोज्यौं, तर हतास उनीहरु बोल्नै खोजेनन् । त्यहाँबाट पनि अघि बढ्यौं । क्यामेरामा फोटो कैद गर्दै गयौं । फासेलङ पुग्यौं । त्यहाँ पनि घर होइन, भग्नावशेष मात्रै थिए । २४ घन्टापछि पनि स्थानीयले भत्किएका संरचना खोस्रने आँट गरेको देखिएन । उनीहरु भत्किएका घर अघिल्तिर टोलाइरहेका देखिन्थे । कारुणिक दृश्यलाई छाड्दै हामी सुस्पा क्षमावती पुग्यौं । यहाँको दृश्य पनि उस्तै थियो । स्थानीयका पीडा पनि उस्तै थिए । मंगलबारको भूकम्प जाँदा घरमै रहेकी कालीप्रसाद सिवाकोटीकी सुत्केरी बुहारी भाग्न सकिनन् । घर विपरित दिशाातिर ढलेकाले धन्न जोगइन । ‘बुहारी घरमै थिइन्, सुत्केरी भएकाले भागन सकिनन् । घर धन्न अर्कोपट्टि ढल्यो र बाँचिन्,’ उनले भने । सुनखानी–२ का गोपालप्रसाद खरेल बेलुका खाने अन्न झिक्न भत्किएको घरको भग्नावशेष खोतल्दै थिए । ‘दुईवटा घर थिए, दुवै ढले । अन्नपात सबै पुरियो, लगाउने लुगा पनि छैन । अलिअलि भएको पैसा पनि यहीँ पुरियो । किनेर पनि खान सकिने अवस्था छैन, केही मिल्छ कि भनेर खोस्रिदैं छौं, ’ उनले भने । ‘सुन्द्रावतीमा पनि शतप्रतिशत घर भत्किएका छन् । सबै विस्थापित भएका छन् । रेडियो छैन् । टिभी छैन । टेलिफोन चल्दैन् । हामी एक सय वर्ष पछि परेजस्तो लागिरहेको छ । भूकम्पले त विध्वसं नै मच्चायो,’ छिमेकी गाविसको जानकारी दिँदै सुनखानी गाविसका सचिवले भने । आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र ज्ञानेन्द्र कार्कीले लेखेका छन् । -

0 comments

Write Down Your Responses