सालीले भिनाजुलाई पठाइन ४१ ट्रक राहत सामग्री

basundhara-pashupati-shamsherकाठमाडौं। नेपालमा आएको भुकम्पले बनाएको महाविनाशपछि प्रभावितहरुलाई सहयोगको लागि देश विद्शबाट सहयोग जुट्ने क्रम जारी छ। छिमेकी देशहरु समेत पहिलो चरणमा भुकम्प पिडित तथा प्रभावितहरुलाई राहत सहयोगका लागि जुटेका छन्। देश मात्र हैन तिनका राज्य सरकारहरु समेत राहत सहयोग पठाउन अघी सरेका छन्। खासगरि भारतका राज्य सरकारहरु सहयोगका लागि अघी सरेका हुन्। उत्तर प्रदेश सरकार र पश्चिम वंगाल सरकारले पाल र खाद्यान्न सहयोग यसअघी गरिसकेका छन्। पछिल्लो चरणमा भने राजस्थान सरकारले नेपालका भुकम्प पिडित तथा प्रभावितहरुलाई राहत सहयोग पठाएको छ।
राजस्थान सरकारका मुख्यमन्त्री बसुन्धरा राजे सिन्धियाको तस्विर टाँसेर आएको राहत सामानसहितको ट्रक राजस्थानबाटै भुकम्पले सबैभन्दा बढी पिडित र प्रभावित सिन्धुपाल्चोकको लागि तोकिएर आएको छ। सिन्धुपाल्चोकका लागि राजस्थान सरकारका मुख्यमन्त्री बसुन्धरा राजे सिन्धियाले पठाएको सामग्री काठमाडौं आउने क्रम शुरु भएको छ। केहि दिनअघी आएको पहिलो लट सामान राजस्थान सरकारको प्रहरीले सुरक्षा दिएर ल्याएको थियो। शुक्रवार थप १७ ट्रक सामान आएको छ। केहि दिनअघी आएको सामान शितल निवाससँगै जोडीएको एक राणा परिवारको घरमा राखिएको थियो। कुल ४१ ट्रक सामान आएको राहत सामग्रीसँगै सुरक्षा दिन आएका राजस्थान प्रहरीका एक अधिकारीले हाम्राकुरा डटकमलाई जानकारी दिए।
सिन्धुपाल्चोक राजस्थान सरकारका मुख्यमन्त्री बसुन्धरा राजे सिन्धियाको भिनाजु तथा राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले राजनीति गर्दै आएको क्षेत्र हो। पञ्चायती व्यवस्थादेखिनै राणाले सिन्धुपाल्चोकबाट चुनाव जित्दै आएपनि वहुदलीय व्यवस्थापछि भने कहिले जीत र कहिले पराजय व्यहोर्दै आएका राणा लोकतन्त्र पूनर्वहालीपछि दुईपटक भएको संविधानसभा चुनावमा दुबैपटक पराजित भएका थिए।
भारतीय सिन्धिया परिवारका नातेदार राणाले राजनीति गर्दै आएको क्षेत्रमा सबैभन्दा ठूलो क्षति भएपछि त्यस क्षेत्रमा सहयोग गर्न उनका शसुराली खलक अघी सरेका हुन्।
क्षेत्र नम्वर १ बाट निर्वाचित सभासद मोहन बस्नेतले वुढानिलकण्ठ विद्यालयका पूर्व विद्यार्थीहरुको संस्था सेब्सले त्यस क्षेत्रमा वितरण गर्न लागेको राहत सामग्रीमा अवरोध पुर्‍याएपछि ठूलो मात्रामा राहत सामग्री वितरण गर्ने संस्थाहरु सिन्धुपाल्चोकमा जान हच्किएका थिए। राप्रपाका अध्यक्ष राणाको पहलमा आएको सामग्री सिन्धुपाल्चोकमा वितरण हुने भएपछि सिन्धुपाल्चोकको राजनीतिक क्षेत्रमा पनि यसले हलचल ल्याउने आँकलन गरिएको छ।

0 comments

Write Down Your Responses