कांग्रेस नेताका घरबाट खोसियो राहत सामग्री

२ जेठ, काठमाडौ । काठमाडौको बुढानिलकण्ठ गाविसको चुनिखेलका स्थानीयवासीले स्थानीय कांग्रेस नेताका घरबाट राहत सामग्री खोसेका छन् ।
कपन पारीको बुढानिलकण्ठ-१५ चुनीखेलमा स्थानीयले पीडितलाई आएको राहत पार्टी नेताहरुले छानिछानी आफ्ना कार्यकर्तालाई मात्रै बाँडेको भन्दै स्थानीय नेताका घर घरमा गई राहत सामग्री कब्जा गरेका छन् ।
भूकम्पपीडितलाई भनेर राज्यकोषबाट आएको राहत सामग्री नेताहरुले घरघरमा लुकाएर राख्ने र आफ्ना मान्छेहरुलाई मात्रै बाड्ने काम गरेकाले जफत गरिएको स्थानीय नागरिक वडा मञ्चका संयोजक भाइनारायण श्रेष्ठले अनलाइनखबरलाई बताए ।
नागरिक वडामञ्चको पहलमा नवपुर क्लवले राजनीतिक दलका स्थानीय नेताका घरबाट त्रिपाल, कम्बल, चामल लगायतका राहत सामग्री जफत गरेका छन् । जफत गरिएका राहत सामग्रीहरु स्थानीयवासी तथा पीडितहरुबीच छलफल गराएर बाँडिने श्रेष्ठले बताए ।
नेपाली कांग्रेसका वडा समिति सभापति हरीराम श्रेष्ठ लगायतका घरबाट राहत सामग्रीहरु स्थानीय जफत गरेका छन् ।
कांग्रेस १५ नम्बर वडाका सभापति हरीराम श्रेष्ठले नेपाली कांग्रेस ४ नम्बर क्षेत्रका सभापति नुच्छेनारायण श्रेष्ठले रामदेवबाट ल्याएको राहत सामग्री भनी दिएको आफूले बाँड्न खोज्दा नागरिक वडा मञ्चका भाइनारायणले खोसेको आरोप लगाए । उनले १५ वटा पाल र कम्बल तथा विदुवाका लागि भनी आएका सामग्रीहरु बाँडन खोज्दा विवाद गरेपछि आफूले छाडिदिएको बताए ।

source- onlinekhabar.com

0 comments

Write Down Your Responses