अमेरिकी हेलिकोप्टर अझै भेटिएन, खोजी एक रातका लागि स्थगित

आइतबार नेपाली आकाशमा उडान भर्दै UH-1Y हेलिकोप्टर
३१ वैशाख, काठमाडौं । मंगलबार अपरान्हदेखि दोलखा आसपास हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टरको हवाइ साधनबाट गरिएको खोजी कार्य विहीबार साँझ स्थगित गरिएको नेपाली सेनाले जनाएको छ । शुक्रबार बिहानदेखि पुनः खोजी सुरु गरिने जंगी अड्डाले जनाएको छ ।
‘आज हवाइ साधनहरुद्वारा गरिएको खोजी कार्यलाई भोलि विहानसम्मको लागि स्थगित गरिएको छ,’ सेनाद्वारा विहीबार साँझ जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘हराइरहेको अमेरिकन हेलिकोप्टरको खोजी कार्यका लागि परिचालित पैदली फौजद्वारा खोजी कार्यलाई निरन्तरता दिइराखेको छ ।’
पैदल सेनाले राति पनि खोजी जारी राख्ने र शुक्रबार बिहानदेखि हवाइ साधनले फेरि खोजी जारी राख्ने सेनाले स्पष्ट पारेको छ ।
सेनाका हेलिकोप्टरले विहीबार दिनभरि पनि अमेरिकी हेलीकोप्टरको खोजी जारी राखेका थिए । हेलिकोप्टर खोज्न निस्केका हवाइ साधनले गाउँ गाउँमा भूकम्प पीडितहरुको उद्धारको कामसमेत गरेको थियो ।
नेपाली सेनाले विज्ञप्तिमा भनेको छ, ‘खोजी कार्यका लागि गएका हवाइ साधनहरुबाट फर्कने क्रममा पुनः दोलखा जिल्लामा गएको भूकम्पबाट घाइते भएका बिरामीहरुलाई उपचारका निमित्त काठमाण्डौ ल्याउने कार्य समेत गरेको छ ।’
मंगलबार गएको शक्तिशाली भूकम्पपश्चात् दोलखाको सुनखानीमा खोज तथा उद्धार कार्यका लागि गएको US Marine Corps को UH-1Y Huey हेलिकोप्टर तीन दिन बितिसक्दा पनि अहिलेसम्म फेला परेको छैन ।

source- onlinekhabar.com

0 comments

Write Down Your Responses