हमालको पहलमा एक अर्ब

rajesh-hamal
काठमाडौ, वैशाख २२ - महाभूकम्प पीडितका सहयोगार्थ नायक राजेश हमालको पहलमा नेदरल्यान्डमा करिब एक अर्ब रुपैयाँ संकलन भएको छ । नेदरल्यान्ड पुगेका हमालले त्यहाँको ‘हिरो ५५५’ नामक उद्धार कोषका लागि ९७ करोड रुपैयाँ जुटाइदिएका हुन् । 
‘हिरो ५५५’ नेदरल्यान्डका डच र त्यहाँ बस्ने नेपालीहरू मिलेर खोलेको कोष हो । ‘राजेश दाइ स्वयं नेदरल्यान्ड गई क्याम्पेनिङ गरेपछि छोटो समयमै ठूलो मात्रामा सहयोग संकलन भएको हो,’ हमालका सहयोगी रोशन हमालले कान्तिपुरसँग भने । 
फिनल्यान्डको एक सांस्कृतिक कार्यक्रममा गएका राजेश भूकम्प जाँदा त्यहीँ थिए । ‘हिरो ५५५ ले राहत रकम उठाएको जानकारी पाएपछि उहाँ नेदरल्यान्ड नै पुगेर सामाजिक सञ्जाल र टेलिभिजनमार्फत् सहयोगको अपिल गर्नुभएको हो,’ रोशनले थपे । हमालले चार दिनको नेदरल्यान्ड बसाइमा देखाएको सक्रियताले ठूलो रकम उठ्न सकेको उनले दाबी गरे । उक्त रकम एनआरएन नेदरल्यान्डमार्फत् सिधै प्रधानमन्त्री राहत कोषमा जम्मा हुने बताइएको छ । स्वदेशमा भूकम्प गएपछि हमालले नेपालमै रहेका रोशनमार्फत दैनिक चासो राखिरहेका छन् । ‘उहाँ बारम्बार भूकम्पले कति विनाश गर्‍यो ? गाउँका घर कति भत्किए भनेर सोधिरहनुहुन्थ्यो । मैले पनि यहाँ जे जस्तो छ त्यही भनेको छु,’ रोशनले भने, ‘राजेश दाइलाई भूकम्पले पुरातात्त्विक संरचनामा पुर्‍याएको क्षतिमा बढी चासो र चिन्ता छ ।’ हमाल नेदरल्यान्डबाहेक फ्रान्समा पनि नेपाली दूतावासको सहकार्यमा राहत संकलनमा जुटेका छन् । एक्लै विदेश भ्रमणमा रहेका हमाल शुक्रबार काठमाडौं फिर्दै छन् । 
विपत्ति उद्धार तथा राहतका लागि खडा गरिएको हिरो ५५५ नामक सो संस्थाले नेपालका भूकम्प प्रभावित क्षेत्र र जनजीवनको चित्रण गर्दै सहयोगका लागि विभिन्न शीर्षक छुट्याएको छ । संस्थाको वेबसाइटमा पाँच युरो सहयोग भएमा एउटा ब्लाङकेट किन्न पुग्ने सबैभन्दा सानो सहयोग शीर्षकदेखि आपतकालीन अस्पताल स्थापनाका लागि एक हजार नौ सय युरोसम्मका सहयोग मागिएको छ ।

 

प्रकाशित मिति: २०७२ वैशाख २२ ०७:४७ 

source- ekantipur.com

,

0 comments

Write Down Your Responses