ईपीएस कोरियन भाषा परीक्षा असोज २ र ३ मा

फोटो :अन्‍नपूर्ण फाइल तस्बिर
काठमाडौं : सरकारले ईपीएस भाषा परीक्षा आगामी असोज २ र ३ गते सञ्चालन गर्ने निर्णय गरेको छ। श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा सोमबार बसेको बैठकले भाषा परीक्षा सञ्चालन गर्ने मिति तोकेको हो। 
 
श्रम तथा रोजगार मन्त्रालय, ईपीएस कोरिया शाखासहित सरोकारवाला निकाय सम्मिलित बैठकले परीक्षा असोज २ र ३ मा आयोजना गर्ने निर्णय गरेको हो। दुई शक्तिशाली भूकम्पपछि परीक्षा सार्ने अनौपचारिक सहमति गरिए पनि मिति भने तोकिएको थिएन।
 
परीक्षा लामो समयसम्म पर सरेकाले यसअघि तोकिएको केन्द्रसमेत परिवर्तन हुने भएको छ। राजधानी र बाहिरका जिल्लामा कायम गरिने परीक्षा केन्द्रका बारेमा केही दिनपछि जानकारी गराउने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। 
 
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा सोमबारको बैठकले भाषा परीक्षा आगामी असोज २ र ३ मा गर्ने, परीक्षा केन्द्र र नतीजा सार्वजनिक गर्ने मिति भने केही समयपछि जानकारी गराउने निर्णय गरेको हो।
 
यसैगरी परीक्षाफल प्रकाशन गर्ने मितिसमेत अहिले तोकिएको छैन। यसअघि यही जेठ ३० र ३१ मा परीक्षा लिने तयारी गरिएको थियो। यही योजनाअनुसार परीक्षा केन्द्र र नतीजा प्रकाशन मितिसमेत तोकिएको थियो। 
 
अब परीक्षा तीन महिनाभन्दा बढी पर सरेकाले यसअघि तोकिएका सबै केन्द्रमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले पुन: नयाँ तालिका सार्वजनिक गर्नुपर्ने ईपीएस कोरिया शाखाले बताएको छ।
 
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले सोमबारको बैठकले भाषा परीक्षा आगामी असोज २ र ३ मा गर्ने र परीक्षा केन्द्र र नतीजा सार्वजनिक गर्ने मिति भने केही समयपछि जानकारी गराउने निर्णय गरेको जानकारी दिए। 
 
'यसअघि तय गरिएका सबै केन्द्र उपलब्ध हुन नसक्ने भएकाले पुन: छलफल गरी केही पुरानासहित नयाँ केन्द्र तोक्नुपर्ने भएको हो,' उनले बताए।  सरकारले पहिलोपटक यसपालीदेखि राजधानी बाहिर पोखराबाट पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। पोखराको परीक्षा केन्द्र यथावत् राखिने ईपीएसले जानकारी दिएको छ। 
रोजगारदाता मुलुक कोरियाले तत्काल कुनै पनि हालतमा परीक्षा सञ्चालन गर्न नसक्ने बताएपछि सरकारले लामो समयका लागि परीक्षाको कार्यक्रम पछि सारेको हो।
 
नेपालले दुई देशबीच सरकारी तवरमा (जी टु जी) कामदार पठाउन थालेदेखि नै भदौ-असोजमा परीक्षा सञ्चालन गर्ने गरेको थियो। दसैंको मुखमा परीक्षा सञ्चालन गर्दा राजधानीको ट्राफिक व्यवस्थापन गर्न कठिन भएपछि यसपटक जेठमै परीक्षा लिन लागिएको थियो। 
 
नेपालले सन् २००८ देखि ईपीएस (रोजगार अनुमति प्रणाली) प्रणाली अनुसार सरकारी तवरबाट आफ्ना कामदार कोरिया पठाउन थालेको हो। भाषा परीक्षाका लागि आवेदन फारम बुझाउने काम सम्पन्न भइसकेको छ। 
 
५१ हजारभन्दा बढीले आवेदन फारम भरेका छन्। भूकम्पका कारण फारम भरेका व्यक्तिले परीक्षा दिन अझै लामो समय कुर्नुपर्ने बाध्यता भएको छ। कोरिया रोजगारीको आकर्षक गन्तव्य हो। 
 
यो मुलुकमा जाने कामदारले मासिक न्यूनतम एक लाख सात हजार रुपैयाँ कमाउन सक्छन्। यसबाहेक ओभरटाइमको सुविधा हुन्छ।
उच्चशिक्षा हासिल गरी नेपालमै पेसा, व्यवसाय गरेकाले समेत कोरिया जान आवेदन फारम भरेका छन्। 
 
हाल कोरियामा २९ हजार नेपालीले काम गरिरहेका छन्। सन् २०१३ र २०१४ मा भाषा परीक्षा पास गरेका जानेक्रम अहिले पनि जारी छ। कोरियाले उत्पादनमूलक र कृषि क्षेत्रमा नेपाली कामदार लिने गरेको छ।

source- annapurnapost.com

0 comments

Write Down Your Responses