निजी क्याम्पस जेठ १० गतेदेखि खुल्‍ने

काठमाडौं : विभिन्‍न विश्‍वविद्यालयबाट सम्बन्धन लिएर पढाइ सञ्चालन भइरहेका निजी क्याम्पस तथा उच्च शिक्षा प्रदायक निजी शिक्षण संस्थाहरूमा जेठ १० गतेदेखि पठनपाठन सुरु हुने भएको छ।
 
निजी विद्यालयका सञ्चालकह सदस्य रहेको साझा संस्था एसोसियसन अफ प्राइभेट एजुकेसनल इन्स्टिच्युसन अफ नेपाल (अपिन) ले यस्तो निर्णय गरेको हो। 
 
अपिनमा निजी विद्यालय सञ्चालकको छाता संगठन प्याब्सन, एन प्याब्सन, हिसान तथा प्राविधिक तथा मेडिकल शिक्षा र विभिन्न विश्वविद्यालयसँग सम्बन्धन लिएर पढाइ सञ्चालन गरिरहेका निजी क्याम्पससहित ११ वटा संस्थाका प्रतिनिधि सदस्य छन्।
 
अपिनका सदस्य संस्था हिसानका वरिष्ठ उपाध्यक्ष रमेश सिलवालले भने, 'उच्च तहको पढाइ सञ्चालन गरिरहेका शैक्षिक संस्था जेठ १० गतेदेखि खुल्नेछन्।'
 
त्रिभुवन विश्वविद्यालयले भने आफू मातहतका आंगिक क्याम्पसको पढाइ जेठ २२ गतेपछि मात्र सञ्चालन गर्ने निर्णय यसअघि गरिसकेको छ।
 
हिसान उपाध्यक्ष सिलवालका अनुसार निजी क्षेत्रबाट सञ्चालित कक्षा १० सम्म पढाइ हुने विद्यालय भने १७ गतेदेखि खुल्नेछ। सरकारी स्कुल भने जेठ १५ गतेदेखि सञ्चालन गर्ने निर्णय शिक्षा मन्त्रालयले गरिसकेको छ। 
 
यसअघि जेठ १ गतेदेखि विद्यालय खोल्ने शिक्षा मन्त्रालयले तयारी गरे पनि गत मंगलबार आएको भूकम्पका कारण यो मिति दुई साता पर सारिएको थियो।
 
पाँच सय निजी स्कुलमा क्षति
भूकम्पका कारण मुलुकभरका पाँच सय निजी स्कुलमा क्षति पुगेको प्याब्सनले बताएको छ। प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीका अनुसार तीमध्ये केही स्कुलमा पढाइ सञ्चालन गर्न नसक्ने गरी क्षति पुगेको छ।
 
सरकारले सामुदायिक विद्यालयलाई मात्र भूकम्पबाट क्षति पुगेको भन्ने चर्चा गरे पनि निजी विद्यालय भने ओझेलमा परेको उनले गुनासो गरे। 'निजी विद्यालयमा पनि करोडौंको क्षति पुगेको छ।
 
तर यस्ता विद्यालयलाई राहत दिने विषयमा सरकारले चासो दिएको जस्तो लागेन।' भूकम्पका कारण पाँच हजारभन्दा बढी सरकारी स्कुलमा क्षति पुगेको शिक्षा मन्त्रालयले जनाएको छ।

0 comments

Write Down Your Responses