भूकम्पपछि काठमाडौं छाडेका विद्यार्थी जिल्लामै पढ्न थाले

फोटो :फाइल फोटो
दाङ: विनाशकारी भूकम्पको धक्कापछि राजधानीमा अध्ययनरत विद्यार्थीहरु धमाधम जिल्ला फर्केर उतै पढ्न थालेका छन् । राजधानीमा भूकम्पले ठूलो क्षति गरेपछि आफूलाई असुरक्षित महसुस गरी विद्यार्थीहरु धमाधम जिल्ला फर्किन थालेका हुन् ।
 
राजधानीका विभिन्न विद्यालयहरुमा अध्ययन गरिरहेका विद्यार्थीहरु भूकम्पपछि आफ्नै जिल्लामा सुरक्षित ठानेर जिल्लाका विभिन्न निजी विद्यालयहरुमा भर्ना भइरहेका छन् । हाल सम्म दाङका विभिन्न निजी विद्यालयहरुमा ६३ जना विद्यार्थी राजधानीबाट फर्किएर भर्ना भएका छन् ।
 
 “घोराहीका दीपशिखा आवासीय उच्च माध्यमिक विद्यालय, लिटिल एञ्जल्स बोर्डिङ स्कूल, सिद्धार्थ एकेडेमी, सनलाइट बोर्डिङ स्कूल लगायतका विद्यालयमा उनीहरु भर्ना भएका छन्”, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) दाङका अध्यक्ष यादव  गिरीले भने । “हाम्रो जानकारीमा आएको तथ्यांक मात्रै ६३ जनाको छ”, अध्यक्ष गिरीले थपे, “राजधानीमा असुरक्षित महसुस गरी जिल्ला फर्किने विद्यार्थीहरुको संख्या योभन्दा बढी हुनसक्छ ।”
 
“राजधानी त्रासमा छ । बस्ने माहोल छैन”, अध्यक्ष गिरी भन्छन् “ट्वाइलेट जाँदा पनि तर्सिने अवस्था छ । यता आमा बुवाको काखमा पनि रहने र त्रासमा पनि बस्नुनपर्ने देखेर विद्यार्थीहरु जिल्ला फर्किएको हुन सक्छ ।” कतिपय अभिभावकहरु आफ्ना छोराछोरीलाई राजधानी पठाएकोमा पछुतो मान्दै जिल्लाकै विभिन्न विद्यालयहरुमा भर्ना गराउन थालेको पाइएको गिरीले बताए ।
 
एक जना अभिभावक घोराही– ६ गिठेपानीका कर्णबहादुर वलीले भने, “विद्यालयको भौतिक संरचना नै ध्वस्तभएका छन् । उता विद्यार्थीमा साँझ बिहानको त्रास र यता हामीलाई मानसिक तनाव । त्यही कारणले गर्दा मैले आफ्नो बच्चालाई यतैको विद्यालयमा भर्ना गरेको हुँ ।” 
 
आफ्नै जिल्लामा भएपछि केही घटना भइहाले पनि तत्काल थाहा पाइने र सबै दृष्टिले घर आँगनमै शिक्षा दिनुपर्ने उचित देखिएको वलीले बताए । उनले आफ्नो छोरा भरत वलीले काठमाडौंको न्यूभिजन बोर्डिङ स्कूलमा युकेजीमा पढिरहेको र हाल दाङकै लिटिल एञ्जल बोर्डिङ स्कूलमा भर्ना गरेको जानकारी गराए ।
 
गोरखा इन्टरनेशनल पव्लिक उच्च माध्यमिक विद्यालयका भाइस प्रिन्सिपल मानसिंह जीएमले भूकम्पपछि काठमाडौंका विभिन्न विद्यालयमा अध्ययन गरिरहेका ७ जनाले आफ्नो विद्यालयमा नाम लेखाएको जानकारी दिए । “आउन त धेरै आएका थिए । हाम्रो विद्यालयको क्षमताका कारण अरुलाई फर्कायौं, ७ जना चाहिँ भर्ना भएका छन् । तीमध्ये एउटा विद्यार्थी भूकम्पबाट घाइते भएका छन्”, भाइस प्रिन्सिपल जीएमले भने ।
 
घोराहीका सुरेन्द्र बस्नेतले पनि आफ्नो छोरा सुशान्त बस्नेतलाई राजधानीबाट फिर्ता बोलाएर घोराहीकै सिद्धार्थ एकेडेमीमा कक्षा ४ भर्ना गरेका छन् । सुरेन्द्रले काठमाडौंमा पढाइ पनि ढिलो सुरु हुने भएको र छोरा बढी त्रसित भएका कारणले दाङमै फिर्ता लिएको बताए । 
 
”उता बच्चा धेरै त्रसित भयो । त्यहीकारणले यतै दाङ फिर्ता गरेका हौं” सुरेन्द्रले भने । त्यसैगरी श्रद्धा थापा सिद्धार्थ एकेडेमीमै कक्षा ९ माभर्ना भएकी छन् भने घोराही रतनपुरकै युगल रोका पनि सोही विद्यालयको कक्षा २ माभर्ना भएका छन् । 
 
युगलका बुवा लालबहादुर रोका भन्छन्, “एक त परिवार बाँडिएर बस्नुपर्ने त्यैमाथि राजधानीमा धेरै त्रास भयो । त्यही भएर बच्चा यता फर्काएको हुँ ।” उनीजस्तै काठमाडौंको न्युभिजन बोर्डिङ स्कूलमा कक्षा ७ मा पढिरहेका नवीन वलीलाई पनि बुवा कर्णबहादुर वलीले लिटिल एञ्जलमै भर्ना गराएका छन् ।
 
पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराकी छोरी प्रगतिले पनि आफ्नी छोरी पिञ्जु बुढालाई दाङकै दीपशिखा उच्च माविमा भर्ना गरेकी छन् । जावलाखेल स्थित आइडल मोडल स्कूलमा पढिरहेकी छोरी पिञ्जुले दाङमा पढ्ने भएपछि प्रगति पनि दाङमै डेरा खोज्नतिर लागेकी छन् । माध्यमिक तहसम्म अध्ययन गर्ने विद्यार्थीहरु मात्रै होइन प्लस टु लेभलमा अध्ययन गर्ने विद्यार्थीहरु पनि जिल्ला फर्कने योजनामा छन् । 
 
केही अभिभावकहरुले प्लसटुका विद्यार्थी दाङ सार्ने विषयमा सल्लाह गरिरहेको प्याब्सन दाङका अध्यक्ष गिरीले बताए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय उपमहासचिव राजेन्द्र बानियाँका अनुसार राजधानीमा मात्रै २३ वटा संस्थागत विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । 
 
त्यस्तै १ सय २३ विद्यालयमा आंशिक क्षति भएको छ । बानियाँका अनुसार देशभर ४ सय ९८ निजी विद्यालय पूर्णतः क्षतिग्रस्त भएका छन् । त्यस्तै १ हजार ५ सय विद्यालयमा आंशिक क्षति भएको छ । उपमहासचिव बानियाँका अनुसार देशभरमा निजी विद्यालयका १ सय ९८ विद्यार्थी, ४९ जनाशिक्षक र १ हजार ७ सय ५२ जना अभिभावकको मृत्यु भएको छ ।

0 comments

Write Down Your Responses