गाउँलेले यसरी पहिल्‍याए अमेरिकी हेलिकोप्टर दुर्घटनास्थल


आगो र रातो कपडा चिनो राखेपछि बल्‍ल पहिचान, आठमध्‍ये पाँ शव फेला
काठमाडौं : बिनाशकारी भूकम्प पछि घाईतेको उद्धारका लागि अमेरिकी सरकारले नेपाल पठाएको अमेरिकी सेनाको 'यू एच वान वाई हु वे' हेलिकोप्टर दोलखाका र सिन्धुपाल्चोकको सीमाना कालिन्चोकस्थित घोर्थली जंगलमा भेटिएको छ। स्थानीय वासिन्दाको फोन सम्पर्कले दुर्घटनास्थल पत्ता लागेको हो।
 
शुक्रबार बिहान सात बजे सिन्धुपाल्चोक घोर्थलीका स्याङबो शेर्पाले ९८१८०३४२२७ नम्बरबाट जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा फोन गरेर दुर्घटनास्थलबारे जानकारी गराएका थिए। 
 
शेर्पाको सुचना अञ्चल प्रहरी कार्यालय बाग्मति हुँदै प्रहरी प्रधान कार्यालयको कार्य विभागका डिआईजी हेमन्त बहादुर पालसम्म पुगेको थियो। पालले गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन उद्धार केन्द्रमा जानकारी गराएपछि शेर्पाले भनेको स्थानमा सेनाको हेलिकोप्टर पठाउने निर्णय भएको हो।
 
सुरूमा सेनाको हेलिकोप्टर पुगेर दोलखा र सिन्धुपाल्चोकको पुरी गाउँको डाडाको फेदी हुँदै फर्किएपछि शेर्पाको सुचना गलत रहेको निष्कर्षमा पुगिएको थियो।
 
 शेर्पालाई पुन: फोन गरेर गलत सुचना दिएको भन्ने जानकारी गराएपछि शेर्पाले सेनाको हेलिकोप्टर फेदीफेदी मात्रै उडेको तर दुर्घटना डाँडामा भएको बताएका थिए।
 
 शेर्पा बस्ने स्थान घोर्थलीबाट दुर्घटनास्थलमा पुग्न चार घण्टा लाग्ने भएपछि उनले आफू हिंडेरै भए पनि उक्त स्थानमा पुग्ने र आगोको धुनी बाली रातो कपडा टाँग्ने बताएपछि पुन: सेनाको हेलिकोप्टर पठाउने निर्णय भएको थियो। 
 
दोस्रो पटक साढे ११ बजे शेर्पाले आगोको धुनी र रातो कपडा टाँगेको सेनाको हेलिकोप्टर टोलीले देखेपछि ल्याण्ड गरेर हेर्दा शेर्पाको सुचना सत्य सावित भएको थियो।
 
शेर्पाले दिएजस्तै सुचना प्रहरीलाई बुधबार पनि आएको थियो। स्थानीय घोर्थलीकी बिनु मगरले प्रहरीलाई १०० मा फोन गरेर यसबारे जानकारी गराएकी थिईन्। 'डँडामा ठूलो आवाज आएको छ, हेलिकोप्टर दुर्घटना भएजस्तो छ' भन्दै मगरले जानकारी गराएपछि सेनाको हेलिकोप्टर पठाईएको थियो। 
 
नेपाली सेना, अमेरीकी र भारतीय हेलिकोप्टर पठाई नभेटिएपछि मगरको सुचना गलत रहेको भन्दै वेवास्ता गरिएको थियो। जमिनमा नभेटेपछी हेलिकोप्टर तामाकोसी नदीमा हराएको आशंकामा समेत सेनाको टोलीले खोजबिन गरेको थियो।
 
नेपाल प्रहरीका प्रवक्ता डिआईजी कमल सिंह बमले भने,' शुक्रबार विहान भेटिएको अमेरीकी सेनाको दुर्घटनाग्रस्त हेलिकोप्टर भेटिएको पहिलो सुचना नेपाल प्रहरीलाई आएको थियो, प्रहरीमा आएको सुचना सेनासँग समन्वय गरेर खोजी गर्दा भेटिएको हो।'
 
 गत मंगलबार देखि बेपत्ता भनिएको उक्त हेलिकोप्टरमा दुई नेपाली सेना र ६ जना अमेरिकी मरिन रहेको नेपाली सेनाले जनाएको छ।

source-  annapurnapost.com

0 comments

Write Down Your Responses