रूखले किचेर डाक्टरको मृत्यु

धरान: शनिबार राति आएको हावाहुरीका कारण रूखले किचेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी एकजना डाक्टरको घटनास्थलमै मृत्यु भएको छ। एनाटोमी विभागमा कार्यरत डा. रञ्जना देवकोटाको प्रतिष्ठान हाताभित्रै रहेको शिरीषको रूखले किचेर मृत्यु भएको हो।
 
राति ९ बजे ड्युटी सकेर क्वार्टरतर्फ जाँदै गरेकी रञ्जनालाई प्रतिष्ठानको साइकेटिक वार्डपछाडिको बाटोमा हिँडिरहेको अवस्थामा एक्कासि ढलेको रूखले किचेको थियो। ठूलो रूखले रञ्जनालाई टाउकोमा किचेर घटनास्थलमै मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बताए।
 
प्रतिष्ठानमै एमबीबीएस अध्ययन गरेकी डा. रञ्जना प्रतिष्ठानमा जुनियर रेसिडेन्ट पदमा कार्यरत थिइन्। गोरखा घर भएकी डा. रञ्जनाकी बहिनी अञ्जना पनि प्रतिष्ठानमै एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छिन्।
 
रञ्जनाको शव आइतबार बहिनी अञ्जनाले बुझेर प्रतिष्ठानकै चिकित्सकको सहयोगमा गोरखा लगिएको छ। वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण बीपी प्रतिष्ठान धरानको अस्पताल र धेरैजसो आवासगृहमा क्षति पु:याएपछि प्रतिष्ठान हाताभित्र रहेका बूढा र ठूला रूख काट्न चिकित्सकहरूले अस्पताल प्रशासनसँग माग गरेका थिए। 
 
तर समयमा अस्पताल प्रशासनले प्रतिष्ठानका बूढा रूख नकाटेका कारण डा. रञ्जनाले ज्यान गुमाउनुपरेको प्रतिष्ठानको डा. बीएन यादवले बताए।
 
शनिबारको घटनापश्चात् प्रतिष्ठानका चिकित्सक र कर्मचारीले प्रतिष्ठानको सबै रूख काटेर बाटो खाली गर्न माग गरेका छन्।

0 comments

Write Down Your Responses