भूकम्पपछि होटल बुकिङ रद्द, पर्यटक आउन छाडे

१८ वैशाख, काठमाडौं । शनिबार गएको विनाशकारी भूकम्पले मुलुकको पर्यटन उद्योग नराम्रोसँग प्रभावित भएको छ । भूकम्पका कारण पर्यटकहरु नेपाल आउन डराएपछि पर्यटन उद्योग प्रभावित भएको हो ।
नेपाल भ्रमणमा आउन लागेका अधिकांश पर्यटकले आफ्नो भ्रमण रद्द गरिसकेको पर्यटन व्यवसायी बताउँछन् । भूकम्पको प्रभाव पर्यटनमा महिनौंसम्म पर्ने निश्चित देखिएको छ । ‘नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले होटलको बुकिङ रद्द गरिसकेका छन्’ होटल संघका महासचिव विनायक शाहले भने- ‘भूकम्पले मुलुक तनावग्रस्त भएको बेलामा घुमफिरका लागि को आउँछ ?’
Summit-Hotel-Final-3नेपाल आइसकेका पर्यटकहरु पनि भूकम्प आएपछि फर्किसकेका छन् भने भ्रमणमा आउन लागेका पर्यटकले बुकिङ रद्द गरेका छन् । जसले गर्दा होटलहरु खाली हुन थालेका छन् ।
भूकम्पको समाचार विश्वभरका मिडियाले प्राथमिकता दिएर प्रकाशन प्रसारण गरेपछि विश्वभर भाइरल बनिरहेको छ ।त्यसो त भूकम्पको झड्काले अधिकांश ठूला साना होटलहरु समेत प्रभावित भएका छन् । हिमाल आरोहणको सिजनमा हिउँपहिरो जान थालेपछि वेशक्याम्पमा पुगेका आरोहीसमेत निरास हुँदै फर्किन थालेका छन् ।
भूकम्पको झड्काले हिमपहिरो जाँदा सगरमाथा आधार शिविरमा ४ जना विदेशी र १४ जना नेपालीले ज्यान गुमाउनुपर्‍यो । जसले गर्दा पनि यो सिजन नेपाल भ्रमणका लागि उपयुक्त नभएको पर्यटकको निष्कर्ष निकालेका छन् ।
अहिले मुलुकभित्र १० वटा पाँचतारे, २ वटा चारतारे र सयौं पर्यटकस्तरीय होटलहरु सञ्चालनमा रहेका छन् । अधिकांश होटलमा बुकिङ रद्द भएको र यसको प्रभाव महिनौंसम्म पर्ने सञ्चालकहरुले बताएका छन् । तत्कालका लागि पर्यटक नआए पनि विदेशी उद्दारकर्ता र पत्रकारले होटलहरु भरिएका छन् । तर, यिनीहरु केही समयपछि आफ्नो मुलुक फर्किने हुँदा होटलहरु लामो समय खाली हुने निश्चित देखिएको छ ।
विश्वका प्रमुख २५ पर्यटकीय गन्तव्येमा परेको काठमाडौं भूकम्पका कारण कुरुप बनेको छ । यहाँ भत्किएका ऐतिहासिक सम्पदाको पुनर्निर्माणका लागि लामो समय लाग्नेछ । ऐतिहासिक धरोहरको अवलोकन गर्न आउने पर्यटक तत्काल नेपाल भ्रमणमा नआउने देखिन्छ ।
नेपालमा छिमेकी मुलुकहरु भारत र चीनबाट सबैभन्दा बढी पर्यटक आउने गर्छन् । यी दुई मुलुकका पर्यटक बढेपछि अहिले नेपाल बाह्रै महिना पर्यटकले भरिभराउ हुनेगर्छ । तेस्रो मुलुकका पर्यटक असोज, कार्तिक र मंसिर, फागुन, चैत र वैशाख महिनामा नेपाल भ्रमणमा आउने गर्छन् ।
भूकम्पका कारण तेस्रो मुलुकका पर्यटक महिनौं नेपाल नआउने देखिएको छ भने छिमेकी मुलुकका पर्यटक पनि ३/४ महिना नेपाल भ्रमणमा आउन डराउनेछन् । त्यसो त ऐतिहासिक संरचना पुनर्निर्माण नगरिए पर्यटकको आगमन पक्कै घट्ने छ ।
भूकम्पका कारण होटल क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । त्यसको साथै ट्रेकिङ, एक्स्िपडिसन, र्‍याफि्टङ, एयरलाइन्स लगायतको व्यवसाय पनि प्रत्यक्ष मारमा पर्ने भएको छ ।
भूकम्पका कारण विदेशी विमानले एयरपोर्ट जाम गरेपछि मुलुकको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल पनि प्रभावित भएको छ । यसले गर्दा पनि पर्यटकहरुमा प्रत्यक्ष प्रभाव पारेको छ ।
वैशाख महिना बिहेवारी हुने समय हो । यो बेलामा तारे होटलमा धनाढ्य मानिसको भोज हुने गथ्र्यो । त्यो पनि भूकम्पसँगै सकिएको छ । ककटेल डिनर पार्टीहरु पनि रद्द भएका छन् । जसले गर्दा होटल सञ्चालकहरु घाटामा परेका छन् ।
अकल्पनीय घटनाले पर्यटन उद्योग प्रभावित बनाएको बताउँछन्, होटल संघका महासचिव शाक्य । ‘अहिले उद्दार तथा राहत टोली र पत्रकारले होटल भरिए पनि उनीहरु गएपछि होटल खाली हुनेछन्’ उनले भने- ‘हामी सरकार तथा सरोकारवाला निकायसँग छलफल गरेर समस्या छिटो समाधान गर्नेतर्फ केन्द्रित हुन्छौं ।’

0 comments

Write Down Your Responses