राहत लिएर आफन्तलाई भेट्न बारपाक जान चाहानेले गाडी पाएनन्

काठमाडौं, वैशाख १५ – भूकम्पले पूरै गाउँनै क्षतिग्रस्त भएको गोरखाको बारपाकमा जान चाहाने यात्रु गाडी नपाएर अलपत्र परेका छन् । बारपाकमा रहेका आफन्तको उद्धारका लागि व्यक्तिगत रुपमा राहत सामाग्री लिएर जान चाहेका यात्रु काठमाडौंको नयाँ बस पार्क पुगेपनि गाडी नपाएर समस्यामा परेका हुन् ।
चिउरा, विस्कुट, पानी लगायतका राहत सामाग्री लिएर बारपाक जान भन्दै बसपार्क पुगेका यात्रु गाडी नपाएर तथा चर्को गाडी भाडाका कारण समस्यामा परेका हुन् । ३ सय ५० रुपैयाँ भाडा लाग्ने स्थानमा व्यावसायीलले ९ सय रुपैयाँसम्म असुलेका छन् ।
बारपाक जाने ओम बहादुर घलले भन्नुभयो ‘यस्तो विपदमा पनि गाडी नपाएर आपत परेको छ, सरकार के हेरेर बसिरहेको छ त ? गाउँमा बाँचेका मान्छेको उद्धारमा जान निकै कठिनाइ परेको छ कृपया सहयोग गरिदिनुहोला ।’ गएको शनिबारको भूकम्पले गर्दा बारपाक गाउँ पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

0 comments

Write Down Your Responses