तातोपानीमा फसेकाको अझै उद्धार भएन

सिन्धुपाल्चोक जिल्लाको तातोपानी कोदारी चौकी डाँडामा फसेकाहरुकाे अझै उद्धार हुन सकेको छैन। 

सो क्षेत्रमा अधिकांश बिरामीको हेलिकप्टरमार्फत उद्धार भए पनि अझै करिब ३५० जना अलपत्र परेको राष्ट्रिय अनुसन्धान विभाग सिन्धुपाल्चोकका प्रमुख अनुसन्धान अधिकृत उत्तम खनालले जानकारी दिए। 

त्यहाँ अलपत्र परेकामध्ये काठमाडौँस्थित ज्ञानेश्वर ग्यालेक्सी बोर्डिङ स्कुलको दश जोड दुईमा अध्यापन गराउने छ शिक्षक पनि रहेका छन्। दश जनाको टोली चीनको खासा बजार घुम्न गएकामा एक जना स्कुलका गाडी चालक कृष्णबहादुर खड्काको मृत्यु भएको र अन्यको हेलिकप्टरमार्फत उद्धार भएको स्कुलका प्राचार्य एवं सभासद् गीता राणाले जानकारी दिइन। 
उनले सो टोली तीन दिनदेखि सम्पर्कविहीन भएको र एक बालिकाको हेलिकप्टरमार्फत उद्धार भएपछि भ्रमण टोलीमा रहेकाहरु सुरक्षित अवस्थामा रहेको खबर पाएको बताइन। प्रमुख अनुसन्धान अधिकृत खनालले धेरैजसोको उद्धार गरिएको र त्यस क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या पनि झन्डै ४०० भएको अनुमान गर्दै कोदारी राजमार्गमा पहिराले आएको अवरोध हटाउने काम तीव्र भएको बताए। अहिले पनि सो क्षेत्रमा उद्धारको काम भइरहेको छ। 

खनालका अनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म भुकम्पका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७१ पुगेको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन्। रासस

0 comments

Write Down Your Responses