२५ वर्षदेखि नबोलेका दम्पतीलार्इ भूकम्पले मिलायो

गोरखा : २५ वर्षदेखि पत्नी थमकुमारी राना मगरसँग बोलचाल नगरी छुट्टै बसेका गोरखा बुङ्कोटका ९३ वर्षीय फत्तबहादुर भूकम्पले घर भत्काएपछि खुला आकाशमुनि पुगे ।

शनिबारको प्राकृतिक विपत्तिले उता पत्नीको हालत पनि उस्तै थियो । घर झगडाका कारण अलग भएका दम्पतीलाई भूकम्पले खुला आकाशमुनि नै भए पनि एकैठाउँ बस्ने वातावरण मिलाइदिएको छ । अढार्इ दशकदेखि छुट्टिएका दम्पती अहिले भत्किएको घर अगाडि बसेर दुःख सुख साटिरहेका छन् ।

भूकम्पले घरबास खोसेपछि भग्नावशेष अगाडि २५ वर्षपछि सँगै भेटिएका राना मगर दम्पतीले एकै स्वरमा भने, 'विपत्तिले धेरैको ज्यान लग्दा हाम्रो भने मिलन गराइदियो । दुःखले खुसी ल्याए पनि घर छैन, खानेबस्ने चिन्तामा छौँ ।'

भूकम्पको केन्द्रबिन्दुका रुपमा रहेको गोरखा जिल्लाका अधिकांश घर, गोठ भत्किएका छन् । बस्नेखाने ठाउँ छैन । अन्नपात, धन सम्पत्ति भत्किएको घरको भग्नावशेषमा पुरिएको छ । मर्ने त मरिगए बाँच्नेहरुका लागि श्वास धान्न यतिखेर मुस्किल परेको छ ।

बुङ्कोटका ५ सय घरमध्ये एकाध घरमात्रै बचेका छन् । बस्न पाल छैन । दिनभरि घाम लाग्दा रुखमुनि बस्न सकिन्छ तर राति पानी पर्दा बासको ठेगान छैन बुङ्कोटवासीको । सरकारी निकायले राहत सामग्रीका नाममा चारोमात्रै छरेको उनीहरुको आरोप छ । पहुँच भएकाले राहत पाए पनि निमुखा भोकै छन् ।

गाउँका अधिकांश युवा विदेश गएका छन् । भत्केका घर र तिनको संरचना पन्छाउने र पुनःनिर्माण गर्ने जनशक्तिको अभाव छ ।
राहतस्वरुप प्राप्त पाल दर्के पानी झेल्न नसक्ने खालका छन् भने एउटा वडालाई तीन वटा पाल दिइएको जानकारी दिँदै स्थानीय मधुकरराज वन्त मागअनुसारको पाल नआएका कारण वितरणमा समस्या भएको बताउँछन् ।

राहतको नाममा विभिन्न सङ्घसंस्थाले केही चाउचाउ र बिस्कुट ल्याएर तमासा गरिरहेको आरोप स्थानीयवासीको छ । 'चाउचाउ र बिस्कुटले पेट भरिँदैन, पहिले बस्नका लागि त्रिपालको व्यवस्था गरियोस्, त्यसपछि खाद्यान्नको व्यवस्था होस्', स्थानीय शुक्र श्रेष्ठले आक्रोश पोखे, 'राहतको नाममा प्रचार गराउनेहरु बुङ्कोट नआए हुन्छ ।'

पीडितले पैसा तिरेर पनि २० किलोभन्दा बढी चामल पाएका छैनन् । पिउने पानीको समस्या छ, पोल ढलेका र प्रसारण लाइनमा समस्या आएकाले मोबाइल चार्ज गर्न नसक्दा उद्धारका लागि आफन्तलाई बोलाउन नपाएको स्थानीय महिला लीला खनाल गुनासो गर्छिन् ।

राहत सामग्री लिएर जानेहरु गाउँमा कुटिने समस्या बढेको छ भने मरेका चौपायाका कारण गाउँमा दुर्गन्ध फैलिएको छ । घर भत्किए पनि शौचालय भने बाँकी रहेकाले सरसफाइमा भने खासै समस्या छैन बुङ्कोटमा ।

प्रहरी प्रशासनको भवन पनि भूकम्पले भत्काइदिएको छ । प्रहरीको भवन नहुँदा सरकारले प्रदान गरेको राहत सामग्री वितरणमा थप समस्या भएको छ । बुङ्कोट प्रहरी चौकीका प्रमुख होमनाथ अधिकारी स्थानीय जनतासँगै समस्यामा परेको गुनासो गर्छन् ।

सदरमुकामबाट १० किलोमिटरको दूरीको बुङ्कोटमा दलित र अशिक्षितलाई  राहत तथा उद्धारमा भेदभाव गरिएको साने नेपाली गुनासो गरे । दलित भएकै कारण आफूले राहत सामग्री नपाएको उनी बताउँछन् ।

जिल्लाको नामजुङ, घैरुङ, ताप्ले, आश्राङ, बोर्लाङ, ताप्लेका ९० प्रतिशत घर भत्किएका छन् । बारपाकलाई केन्द्रबिन्दु बनाएको भूकम्पका कारण महामारी फैलने जोखिम पनि बढेको छ । मरेका चौपाया जथाभावी फालिएका कारण गाउँ दुर्गन्धित भएको छ ।

मरेका पशु चौपाया फालिएका कारण बुढीगण्डकीको पानी पिउन अयोग्य भएको छ । भूकम्पपछि कतिपय पुराना पानीका मूल सुकेका छन् भने कतै नयाँ मूल फुटेका छन् ।

सोर्स-अन्नपूर्ण पोस्ट् 

0 comments

Write Down Your Responses