अमेरिकाद्धारा तत्काल १० करोड रूपैयाँ सहयोग घोषणा


अमेरिकाले नेपालको महाभुकम्पमा परेकाहरुका लागि तत्काल उद्धार र राहतका लागि एक मिलियन डलर अर्थात करिब १० करोड रुपैयाँ सहयोग घोषणा गरेको छ। नेपालको यो कठिन र आपतकालिन अवस्थाका लागि आवश्यक थप सहयोग निरन्तर जारी राख्ने अमेरिकी अन्तराष्ट्रिय सहयोग नियोग (युएसएआडी) ले जनाएको छ।
अमेरिकी राट्रपति बाराक ओबामाले नेपालमा ठूलो धनजनको क्षति हुने गरी शनिबार गएको महाभुकम्पको बारेमा जानकारी लिएका छन्। ह्वाइट हाउसस्थित अधिकारीले ओबामाले यसमा गम्भीरतापूर्वक चासो देखाएको उल्लेख गरेका छन्। ह्वाइट हाउसकाअनुसार नेपालको आपतकालिन अवस्थाका बारेमा ओबामाको विशेष सन्देश आउने छ। नेपाल सम्बन्धी उनको सम्बोधनमा थप आर्थिक सहयोगको घोषणा हुने अपेक्षा गरिएको छ।
अमेरिकाले हाल भ्रमण तथा विभिन्न उदेश्यले नेपालमा रहेका आफ्ना नागरिकको सुरक्षाप्रति चासो राख्दै तत्काल सम्पर्कमा आउन पनि अपिल गरेको छ। नेपालस्थित अमेरिकी दुतावासले महाभुम्पका कारण अप्ठेरो परेको भए तत्काल आफ्नो कार्यालयमा सम्पर्क गरी आवश्यक सहयोग लिन आग्रह गरेको छ। नेपालको पछिल्लो अवस्थाको जानकारी लिन र यसमा आवश्यक थप सहयोग गर्न नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडे निरन्तर आफ्नो सम्पर्कमा रहेको युएसएआडीले उल्लेख गरेको छ।
अमेरिकी न्यूज एजेन्जीहरुले, महाभुकम्पका कारण नेपालको अवस्था कठोर बनेको भन्दै प्रमुखताका साथ तस्विर र भिडियो सहितका समाचार प्रकाशन/प्रशारण गरिरहेका छन्।
ती संस्थाले महाभुकम्पसँगै सर्वोच्च शिखर सगरमाथामा गएको हिम पहिरोमा परेकाहरुको उद्धार हुन नसकेको उल्लेख गरेका छन्। सिएनएनले सगरमाथा आरोहणमा गएका सयौं विदेशी पर्यटकमध्ये हिमपहिरोले कम्तिमा १० जनाको ज्यान लिएको जनाएको छ। अन्य सयौंको अवस्था अज्ञात रहेको भन्दै तत्काल उद्धारको पहलका लागि आवाज उठाएका छन्। सगरमाथा आरोहणका लागि राम्रो मौसम मानिने भएकाले यतिबेला त्यस क्षेत्रमा सयौं पर्यटक पुगेका छन्।
सिएनएन, बिबिसी, स्काइ न्युज लगायतले सगरमाथा आधार शिबिरमा पुमोरी हिमालबाट हिम पहिरो झर्दाको क्षणमा आरोहीले खिचेका तस्विर र भिडियो निरन्तर प्रशारण गरेका छन्। उक्त हिम पहिराले आरोहीका आश्रयका लागि खडा गरिएका कैयन् टेन्ट क्षतिग्रस्त बनाएको छ।

0 comments

Write Down Your Responses