भूकम्पका कारण ज्यान जानेको संख्या ४३ सय नाघ्यो

काठमाडौं, वैशाख १५ – भूकम्पका कारण देशभर ज्यान जानेको संख्या ४ हजार नाघेको छ । अहिलेसम्म ४ हजार ३ सय ४७ जनाको ज्यान गएको पुष्टि भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार १ सय ५४ जना घाइते भएका छन् । देशभरका भूकम्प प्रभावित क्षेत्रबाट क्षतिको विवरण संकलन गर्ने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ । यस्तै उद्धार तथा राहतको काम मंगलबार अझै प्रभावकारी बन्ने सरकारले दाबी गरेको छ ।

एकैपटक धेरै ठाउँमा काम गर्नुपर्ने भएकाले समस्या भएपनि खोज तथा उद्धारलाई प्राथमिकता दिएर काम गरिएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पमा परेकाहरूको सहायताको लागि विभिन्न देशबाट आएका उद्धार टोली र चिकित्सकहरू देशका विभिन्न ठाउँमा खटेर उद्धारमा सक्रिय छन् ।
सरकारले काम भैरहेको बताएपनि पीडितहरुले भने राहत नपाएको गुनासो गरेका छन् । राहत सामाग्री उपलब्ध नहुँदा तथा बजार पसल खुला नहुँदा सामान किनेर पनि खान नपाएको उनीहरुको भनाई छ । काठमाडाैंको साँखु, नाङ्लेभारे, ललितपुरको चापागाउँ, बुँगमति, खोकना, लेले लगायतका ठाउँमा अझै पनि उद्धार तथा राहत नपुगेको स्थानीयबासिन्दाले जनाएका छन् ।
भक्तपुरका कतिपय ठाउँमा अहिलेपनि सुरक्षाकर्मी र उद्धारको काम थाल्न सकिएको छैन । भुकम्प पीडितका लागि विभिन्न संघसंस्था र अन्तर्राष्ट्रिय समुदायले राहत तथा उद्दारका लागि सहयोगको घोषणा गर्ने क्रम जारी छ ।

0 comments

Write Down Your Responses