आईपीएलमा चेन्नईको एक रनको रोमाञ्चक जित
२७ चैत, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले डिल्ली डेयरडेभिल्समाथि एक रनको रोमान्चक जित हात पारेको छ ।
चेन्नईमा भएको खेलमा चेन्नईले दिल्लीसामू १५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, दिल्लीले ९ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो ।
उसको सुरुवात राम्रो हुन सकेन । १५ रन जोड्दा पहिलो विकेट गुमाएको दिल्लीका ब्याट्सम्यान एक पछि अर्को आउट भए । तर, तेस्रो नम्बरमा ब्याटिङमा आएका एल्बी मोर्केलले आक्रमक पारी खेल्दै दिल्लीलाई जित नजिक पु¥याएका थिए ।
अन्तिम ओभरमा दिल्लीलाई १९ रन चाहिएको थियो र मोर्केल आक्रमक पारी खेलिरहेका थिए ।
ब्राभोको पहिलो बलमा मोर्केलले चौका हाने भने दोस्रो बलमा एक रन लिए । तर, तेस्रो बेलमा इमरान ताहिर आउट भए ।
तैपनि मोर्केलले दिल्लीको आश कामयै राखे । चौथो बलमा छक्का हानेका उनले पाँचौं बलमा २ रन लिएपछि दिल्लीलाई जितका लागि अन्तिम बलमा छक्का चाहियो ।
ब्राभोको बलमा मोर्केलले मात्र चार रन जोड्न सके र दिल्ली १ रनले पराजित भयो । मोर्केल ७३ रनमा अविजित रहे ।
चेन्नईका आशिष नेहराले ३ तथा ब्राभोले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो । उसका लागि डवेन स्मिथले ३४, फाफ डुप्लेसिसले ३२ र कप्तान महेन्द्र सिंह धोनीले ३० रन जोडे ।
दिल्लीका नाथन कल्टर निलले ३ विकेट लिए ।


0 comments
Write Down Your Responses