भत्केको घरभित्र बसेकी आमा भन्छिन्– यहीँ मर्छु जान्न बाहिर (खोकना र बुङमतिको अवस्था)

मिलन तिमिल्सिना / उज्यालाे । काठमाडौं, वैशाख १५ – ललितपुरको पुरानो र ऐतिहासिक वस्ती खोकना । खेतीपाती र पुख्र्यौली काम गर्ने मान्छेको चहलपहल भैरहने खोकना भुईंचालो आएपछि पुरै खोक्रो भएको छ ।
‘केही छैन सबै डुब्यो’ भुईंचालोले धराप बनाएको पुरानो घरभित्रको ढोकामा उभिंदै गरेकी सरस्वती बस्नेतले भन्नुभयो, ‘सबैजना घर छाडेर बाहिर गए, म त मरे पनि बाहिर जान्न ।’ भुईंचालो होइन, अलि ठूलो हावा आउँदा समेत गल्र्यामगुर्लुम ढल्ने अवस्थामा पुगेको घरमा सरस्वती जस्तै उहाँका अरु छिमेकी पनि केही सामान खोज्दैछन् । भुईंचालो आउँदा सबथोक छोडेर भागेका उनीहरुलाई पालमुनी बस्दा भाँडाकुँडा र लुगाफाटा चाहिएको छ । त्यसैले जोखिम मोलेर भएपनि धराप घरमा फाट्टफुट्ट मान्छेको चहलपहल छ । तर खोकनाको वस्ती पुरै सुनसान छ । प्रायः सबै घर, मन्दिर र सम्पदा खण्डहर भएका छन् । धान, मकै, कपडा, भाँडाकुँडा यत्रतत्र छरिएका र पुरिएका छन् ।  ‘यहाँका ९० प्रतिशत घर पुरै भत्किएका छन्’ क्षतिको विवरण संकलन गरिरहेका स्थानीयबासिन्दा अस्तिन्द्रकुमार महर्जनले भन्नुभयो ।
उपत्यकाकै पुरानो र ऐतिहासिक वस्ती खोकनामा झण्डै १ हजार घर छन् । तीमध्ये प्रायः सबै घर काम नलाग्ने अवस्थामा पुगेका छन् । कति भत्केका छन्, कति चर्केका । वस्तीका ११ जनाको ज्यान गएको छ । ‘दिउँसो सबै खेतमा गएको बेला भुईंचालो आएर मात्र बाँचियो, नत्र धेरैको ज्यान जान्थ्यो’ स्थानीयबासिन्दा गीता तुलाधरले बताउनुभयो । घर सम्पत्ति छाडेर खुला चौरमा बसेका विस्थापितले केही नपाएको गुनासो गरेका छन् । क्षतिको विवरण संकलन गर्न समेत कोही पुगेको छैन । स्थानीय युवाहरुले टोली गठन गरेर आफैं क्षतिको विवरण संकलन गर्ने काममा जुटेका छन् । चोरी तथा असुरक्षित नहोस् भन्नका लागि नयाँ मान्छेलाई वस्तीमा पस्न दिइएको छैन ।

बुङमतिको हालत पनि उस्तै

खोकना नजिकको वस्ती बुङमतिको अवस्था पनि यस्तै छ । त्यहाँ पनि धेरै घर भत्किएका छन् । वस्ती पुरै खण्डहरमा परिणत भएको छ । नभत्केको घरमा समेत गएर बस्ने अवस्था छैन । रातो मच्छिन्द्रनाथ र भैरवको मन्दिर पुरै भत्किएको छ । सरकारले कुनै वास्ता नगरेको विस्थापितले बताएका छन् । ‘केही गरेको छैन, १० वटा पाल ल्याएर दिएको छ, यतिले के गर्नु’ स्थानीयबासिन्दा इच्छा शाक्यले भन्नुभयो । वस्तीमा झण्डै ५ सयदेखि ६ सय घर रहेको अनुमान छ । यसमध्ये ९० प्रतिशत घर भत्किएका छन् । ‘घर पुरै भत्कियो, कहाँ गएर बस्ने’ भत्केको घर देखाउँदै बृद्धा सुशीला शाक्यले भन्नुभयो, ‘केही छैन, सहारा दिने पनि कोही छैन, अब कसरी बाँच्ने होला ।’ पीडित सबैको अवस्था यस्तै हो । उनीहरु सबैजना सरकारले उपलव्ध गराउने राहतको पर्खाईमा बसेका छन् ।

0 comments

Write Down Your Responses