राष्ट्रिय लिगमा एपीएफद्वारा पुलिस पराजित

APF२५ चैत, काठमाडौ । ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लव विजयी भएको छ ।
दशरथ रंगशालामा भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । जारी लिगमा पुलिसको लगातार तेस्रो हार हो ।
एपीएफका रञ्जन विष्टले दुवै गोल गरेका हुन् । विष्टको गोलबाट पहिलो हाफमा १-० को अग्रता रहेको एपीएफका लागि दोस्रो हाफमा रञ्जनले नै थप एक गोल गरेपछि एपीएफ २-० ले विजयी भयो ।
आर्मी र मनाङले अंक बाँडे
बुधबार नै भएको दोस्रो खेलमा विभागीय टोली नेपाल आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्लबले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
सुरुवातदेखि नै आक्रामक देखिएको आर्मीले चौथो मिनेटमै अग्रता लियो । मनाङका गोलकिपर र डिफेन्डरको तालमेल नमिलेको फाइदा उठाउँदै आर्मीका भरत खवासले गोल गरे ।
आर्मीले लिएको अग्रता धेरै बेर टिक्न सकेन । खेलमा म्यान अफ द म्याच घोषित भएका अनिल गुरुङले बाइसाइकल किकमार्फत १३ औँ मिनेटमा प्रतियोगिताकै आकर्षक गोल गरे ।
दोस्रो हाफमा दुवै टोलीका खेलाडीले गोलका केही अवसर खेर फालेका थिए । राष्ट्रिय खेलाडीको वर्चस्व रहेको मनाङसामु शारीरिक खेलमा जोड दिने आर्मीले तुलनात्मकरुपमा राम्रो खेलेको थियो ।
जितसँगै एपीएफ ७ अंक जोड्दै शीर्ष दोस्रो स्थानमा उक्लिएको छ । समान ७ अंक रहेको थ्री स्टार भने गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ ।
सात अंक जोडेको मनाङ तेस्रो स्थानमा छ भने छ अंकसहित आर्मी पाँचौ स्थानमा छ । आर्मी र मनाङ दुवै टोली लिगमा अपराजित छन् 

0 comments

Write Down Your Responses