ज्यानको बाजी लगाएर जाजरकोटमा खटिएका स्वास्थ्यकर्मीलाई स्वाइनफ्लू

जाजरकोटमा फैलिएको महामारीले सुशील कोइराला सरकारको आलोचना चुलिएको छ। डाक्टर र औषधिको अभावले नागरिकको ज्यान गइरहेका बेला कोइराला जर्काता उडेको भन्दै  धेरैले उनको व्यक्तिगत आलोचना गरिरहेका छन्।
उता त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसी औषधिसहित जाजरकोट पुगेको कुराको पनि सञ्चारमाध्यममा चर्चा उत्तिकै छ।
तर जाजरकोटका गाउँ गाउँमा रहेका स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीको चर्चा भने कमै  सुनिन्छ। लाग्छ, जाजरकोटमा कुनै स्वास्थ्यकर्मी नै छैनन्, भएपनि उनीहरुले काम नै गरेका  छैनन्। 
तर आफ्नो जीवनको पर्वाह नगरी जाजरकोटमा खट्ने स्वस्थकर्मी पनि छन्। ति मध्ये एक हुन्, बुधबार टेकुको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार गराइरहेका रामकृष्ण गिरी।
जाजरकोटको उपस्वास्थ्यचौकी पयकका अहेव गिरी त्यसरी खटिनेमध्येका प्रतिनिधी स्वास्थ्यकर्मी हुन्।
बिरामीसँगको नियमित सम्पर्कले उनी स्वाइनफ्लू संक्रमित बन्न पुगे।
लोकसेवा पास गरेर गत फागुन १ गतेमात्र अहेवको जागिर खाएका गिरीलाई सदरमुकाम खलंगाबाट १८ कोस टाढा रहेको पयक उपस्वास्थ्य चौकी पुग्न १२ घण्टा लागेको थियो। पैदल १० घण्टा हिँडेर पयक पुग्दा उनले स्वास्थ्य चौकीलाई नमुना बनाउने सपना बुनेका थिए। २३ वर्षका युवा थिए। काम गर्ने जोस जाँगर थियो।
सर्वसाधारणमा स्वास्थ्यप्रति चेतना कमी थियो। उपस्वास्थ्यचौकीमा हुनुपर्ने २५ प्रकारका औषधीमध्ये केही थिए, केही थिएनन्। ‘तर पनि राम्रो काम गरेर नमुना बनाउँछु भन्ने सोच थियो’ उनले भने। उनीसँगै जाजरकोट जिल्लामा २८ जना अहेवले गत फागुनमा नियुक्ति लिएका थिए।
तर उनले सोचेजस्तो भएन। उनले काम थालेको डेढ महिना नपुग्दै जाजरकोटमा अज्ञात रोगले मान्छेहरूको ज्यान जान थाल्यो। अज्ञात भनिएको रोगले पयक गाविसमा चैत २५ गते वीरबहादुर आरसीको निधन भयो। गिरी पयक उपस्वास्थ्यचौकीबाट डेढ घण्टा हिँडेर आरसीको घर पुगे।
आरसीको शवमा आफन्त झुम्मिएका थिए। घरभित्र उनका १८ वर्षका छोरा थलिएका थिए। ८ दिनसम्म लगातार रुघाखोकी, ज्वरोले थलिएपछि आरसीको ज्यान गएको रहेछ।
अस्पताल किन नल्याएको त? गिरीले सोधे।
‘निको भइहाल्ला भन्ने सोच्यौं’, परिवारका सदस्यले उत्तर फर्काए। ‘त्यहाँका मानिसमा बिरामी पर्दा स्वास्थ्यचौकीसम्म जानुपर्छ भन्ने चेतना पनि छैन,’ गिरीले भने।
गिरीले केही औषधी दिए र बिमारले च्यापे स्वास्थ्यचौकी आउन भने। अर्कोदिनदेखि बिरामीको संख्या बढ्न थाल्यो। पयक उपस्वास्थ्य चौकीका गिरीसहित ५ जना कर्मचारी गाउँगाउँ हिँडे। भएसम्मको औषधि दिए। सबैलाई स्वास्थ्यचौकी आउन पर्छ भन्ने सल्लाह पनि।
तर परिस्थिति उनीहरूको वशमा रहेनन्। गिरी आफैं बिरामी परे।
चैत २९ गते साँझ गिरीलाई टाउको दुख्ने, वाकवाकी लाग्ने, घाँटीमा केही अड्केकोजस्तो हुन थाल्यो। थकाई र तनावले अफ्ठेरो भएको होला भन्दै स्वास्थ्यचौकी नजिकैको डेरामा गएर सुते। राति उनलाई झन छटपटी बढ्यो। हातगोडा फतक्क गले। आफैं काम गर्ने स्वास्थ्यचौकीमा भएको औषधिले उनलाई विसेक भएन।
अर्को दिन खलंगा जानुनै पर्नेभयो। तर, रोग निको हुने औषधि खलंगामा छ भन्ने विश्वास थिएन, उनलाई। किनकी धेरै पटक औषधि मागेपनि जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि पठाएको थिएन।
हिँड्ने जाँगर थिएन। गाउँमा बिरामीलाई बोक्ने मानिस पाउनै मुस्किल। खलंगा जान उनलाई घोडा चढ्नुपर्ने भयो। कहिल्यै घोडा नचढेका उनी कार्यालय सहयोगीको घोडामा चढे। अलिकति हिँडेपछि घोडाबाट लडे। त्यसपछि कार्यालय सहयोगी र अरूले उनलाई बोके। इलाका स्वास्थ्यचौकी घरंगा पुगेपछि प्रहरी टोलीले उनलाई स्टेचरमा राखेर पाँचकाटियासम्म पुर्‍यायो। पाँचकाटियामा नेपाली सेनाले क्याम्प चलाएको थियो।
सेनाले उनलाई खलंगासम्म आफ्नो गाडीमा पठाइदियो। बिहान ६ बजे पयकबाट हिँडेका उनी घोडा, मानिसको बुई चढेर, स्टेचरमा सुतेर अनि भ्यानमा बसेर १२ घण्टापछि खलंगा पुगे।
जिल्ला जनस्वास्थ्य कार्यालयमा भएका केही कर्मचारीले उनलाई काम गर्न दुःख मानेर बहाना पारेको भन्दै शंकालु नजरले हेरे। ‘सरहरुले त्यस्तोभन्दा साह्रै दुःख लाग्यो’, गिरीले भने, ‘रातदिन खट्दापनि हामीलाई कामै गर्दैनन् भन्छन्।’
जिल्ला जनस्वास्थ्य कार्यालयको जीपमा उनी अर्कोदिन नेपालगञ्ज आए। त्यहिदिन सवा पाँच बजे बुद्ध एयरको जहाज चढेर काठमाडौं पुगे। विमानस्थलबाट सोझै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेर भर्ना भए।
परीक्षण गर्दा उनमा स्वाइनफ्लू भएको पुष्टि भयो। डाक्टरहरुले चिन्ता नलिन भने। औषधि दिए। ६ दिन अस्पताल बसेपछि उनलाई अहिले निको भएको छ। त्यो सकसपूर्ण यात्रा सम्झँदा अहिले पनि उनको आङ सिरिङ बनाउँछ। घोडादेखि हवाईजहाजसम्म चढेर काठमाडौं नपुगेञ्जेल उनलाई लागेको थियो– भर्खर खाएको सरकारी जागिर र जागिरसँग जोडिएका सबै सपना भताभुंग हुने भए।
डाक्टरले उनलाई विहिबार डिस्चार्ज गर्ने बताएका छन्। डिस्चार्ज हुँदा कति पैसा तिर्नुपर्ने हो? स्वाइन फ्लूको उपचार त निःशुल्क हुने व्यवस्था छ। ‘तर आएगएको, बसे खाएको खर्च सरकारले व्यहोरिदिए हुन्थ्यो,’ भन्ने उनको चाहना छ। ‘म पनि सरकारले खटाएको काम गर्दागर्दै बिरामी परेको हुँ’, उनले भने।
महामारी भनिएको रोग आफैलाई लाग्दा उनलाई पहिलेको भन्दा धेरै कुराको अनुभव भएको छ। यो अनुभव उनी पयकमा पुगेर स्थानीयवासीलाई सुनाउन र बुझाउन चाहन्छन्। तर डाक्टरहरुले संक्रमित व्यक्तिसँग सम्पर्कमा रहे फेरि स्वाइन फ्लू बल्झने भन्दै उनलाई जाजरकोट नजान भनेका छन्।
गरिबी, जन चेतनाको कमी, स्वास्थ्य चौकीको अभाव, भएका स्वास्थ्यचौकीमा औषधि र दक्ष जनशक्ति नहुनु जाजरकोटमा महामारी फैलनुका कारण रहेको गिरीको बुझाई छ। त्यसका लागि दीर्घकालीन समाधानका उपाय अबलम्बन गर्नुपर्छ। ‘केही वर्ष अघि फैलिएको झाडापखालाको महामारी र अहिले फैलिएको स्वाइनफ्लूका लागि काठमाडौंबाट गएका डाक्टरले केही दिन उपचार त गर्लान्।’ गिरीले भने, ‘तर कुनै रोगलाई महामारी बन्न नदिन स्थानीयस्तरमा काम गर्ने हामीजस्ता स्वास्थ्यकर्मीलाई  प्रोत्साहन गर्नुपर्छ।’ त्यसो भइरहेको छ जस्तो उनलाई लाग्दैन।
जाजरकोटको महामारीसँग जोडेर कसैको आलोचना र प्रशंसा गरेको सुन्दा उनलाई लाग्छ– सरकार, मिडियासहित अन्य सरोकारवाला  जाजरकोटका जनताको स्वास्थ्यप्रति संवेदनशील छैनन्। ‘म त काठमाडौं आउन सकेकाले बाँचे, काठमाडौं आउन नसक्ने जाजरकोटका बासिन्दा कहिलेसम्म मरिरहने हुन?’, उनले भने। यो पालीको महामारीबाट जनतालाई बचाएर फेरि जाजरकोटमा अर्को महामारी फैलन नदिन नयाँ नियुक्ति पाएका २८ अहेवसहित स्थानीयस्तरमा काम गर्ने स्वास्थ्यकर्मीलाई दक्ष बनाउनु पर्ने, उनीहरु काम गर्ने स्वास्थ्यचौकीमा प्रयाप्त सोधन साधन र औषधि दिनुपर्ने गिरीको सुझाव छ।
source:: setopati.com

0 comments

Write Down Your Responses