अग्निपीडितलाई झुपडीे छैन, कांग्रेस नेतालाई १६ लाख राहत ! जनताको घर जल्दा चिउरा, नेताको जल्दा बेग्लै व्यवस्था

१ वैशाख, काठमाडौं । सप्तरीका अग्निपीडित र सुर्खेतका बाढीपीडितले बस्ने झुप्रो नपाइरहेका बेला सरकारले कांग्रेस नेता तथा यातायात व्यवसायीहरुलाई ८ वर्ष अघिदेखिको हिसाब गरेर लाखौं रुपैयाँ क्षतिपूर्ति बापत राज्यकोषबाट बाँडेको छ ।
कांग्रेस नेता तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले ०६४ सालको पहिलो संविधानसभा निर्वाचनका क्रममा मधेसी मोर्चाले गरेको घर तोडफोड वापतको क्षतिपूर्ति भन्दै आफ्नो सरकार भएको मौका छोपेर ८ वर्षपछि १६ लाख रुपैयाँ लिएका छन् ।

मन्त्रिपरिषदको बैठकबाटै निर्णय गराएर कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले कँडेललाई १५ लाख ८४ हजार २ सय ८३ रुपैयाँ क्षतिपूर्ति भराएका छन् ।
पहिलो  संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका कँडेलको घरमा तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आगजनी गरेको भन्दै दोस्रो चुनाव सकिएको एक वर्षपछि पहिलो चुनावको क्षतिपूर्ति दिइएको हो ।
नवलपरासी जिल्ला रामपुरवा गाविस वडा नम्बर ६ स्थित कँडेलको घरमा आगजनी गरेको र चल अचल सम्पत्ति क्षति पुगेको दाबी उनले गरेका थिए । उनी ०६४ मा पनि पराजित भए र ०७० पनि एमालेका बैजनाथ चौधरीसँग पराजित भए । कँडेलले चुनाव हारे पनि आफ्नो सरकार आएको मौकामा एकमुष्ठ करीब १६ लाख रुपैयाँ पाएका छन् ।
नवलपरासीमा घर जलेको भन्दै राज्यकोषबाट क्षतिपूर्ति लिएका कँडेलको राजधानीमा आलिशान बंगला छ ।
एउटै गाडीको क्षतिपूर्ति बापत ३१ लाख ३६ हजार दिइएकोमा केही मन्त्रीलेनै यसमा कसको स्वार्थ गाँसिएको भन्दै प्रश्न उठाएका थिए, तर अर्थमन्त्री डा. रामशरण महतले दिनैपर्ने अडान राखेपछि पारित भएको थियो
त्यसो त ०६४ सालको चुनावमा धेरै उम्मेदवारहरुको धन सम्पत्ति क्षति भएको थियो । एमालेका रामेछाप १ का उम्मेवार देवशंकर पौडेलको सांघातिक आक्रमणबाट हत्या प्रयास भएको थियो । उनका साथबाट रहेको डेढ लाख नगदसमेत लुटिएको थियो । तर, त्यो बेलाका कसैले पनि क्षतिपूर्ति पाएका छैनन् ।
मन्त्रिपरिषदले चैत २६ गते गरेको निर्णयमा २०६४ को निर्वाचनमा उम्मेदवारलाई क्षतिपूर्ति दिने कानुन नभएकाले यसपटक दिइएको दावी गरिएको छ । २०७० सालमा उम्मेदवारको धन सम्पत्ति क्षति हुँदा क्षतिपूर्ति पाएकाले सोही निर्देशिका बमोजिम कँडेललाई सो रकम दिइएको दाबी कांग्रेसका मन्त्रीहरुले गरेका छन् ।
सोही बैठकले संविधानसभा निर्वाचन २०७० को बेला गाडी आगजनी र तोडफोड भएको भन्दै विभिन्न व्यवसायीलाई ४६ लाख ३४ हजार रुपैया क्षतिपूर्ति दिइएको स्रोतले जनाएको छ ।
एउटै गाडीको क्षतिपूर्ति बापत ३१ लाख ३६ हजार दिइएकोमा केही मन्त्रीलेनै यसमा कसको स्वार्थ गाँसिएको भन्दै प्रश्न उठाएका थिए । तर अर्थमन्त्री डा. रामशरण महतले दिनैपर्ने अडान राखेपछि पारित भएको थियो ।
बन्दना भगवति प्रालिको नाममा रहेको बा १ क ६००३ नम्बरको गाडी तोडफोड भएको शीर्षकमा सो रकम क्षतिपूर्ति दिइएको हो ।

0 comments

Write Down Your Responses