राम्दीघाटमा भेटियो सार्क जस्तै माछा

'दुर्लभ जलप्राणी' मारेर ४ सय रुपैयाँको दरले बिक्री
भैरहवा । कालीगण्डकी छेउको राम्दी बजारका स्थानीयले ११० किलो भन्दा बढी तौलको सार्क जस्तै देखिने माछा काटेर खाएका छन् ।
राम्दी घाटमा फेला परेको सो माछा हेर्दा फुस्रो हरीयो रंगको थियो । तर कुन प्रजातीको माछा हो भनेर स्थानीयले चिनेनन् र काटेर खाए । यो कुरा स्थानीय प्रशासनले समेत पत्तो पाएन ।

 स्थानीयले माछासँगै तस्वीर खिचाए । जब तस्वीर सार्बजनिक भयो तब जान्ने बुझ्नेहरुले भन्न थाले ‘हेर्दा सार्क जस्तै देखिने यो माछा दुर्लभ प्रजातीको जलप्राणी हो । जस्ले मारे उनीहरुले गलत गरे ।’
एक साता अघि राम्दी घाटमा गएका भैरहवा विद्युत प्राधिकरणका कर्मचारी मनोज भण्डारी र पडसरीका ब्यवसायी मनोज पौडेलले दिएको जानकारी अनुसार जालमा फसेको सो माछालाई स्थानीयले काटकुट गरी ४ सय रुपैयाँका दरले बिक्री गरेका थिए ।
भण्डारी र पौडेल दुबै जना एक व्यक्तिको अन्तिम संस्कार कार्यमा सहभागी हुन राम्दी घाटमा जाँदा यो यो दृष्य देखेका थिए । ‘हामीले अहिलेसम्म त्यति ठूलो माछा देखेका पनि थिएनौं,’ मनोज भण्डारीले भने ।
बडेमानको माछा काट्न समेत धौ धौ परेको थियो । ११० किलो भन्दा बढी तौलको माछाको पेटमा अर्को करीब १० किलोको माछा पनि थियो ।
जलचर ऐनमा खोला नदीमा बिषादी हालेर, करेन्ट लगाएर, बम पड्काएर माछा मार्न निषेध गरेको छ । तर कुन प्रजातीको माछा मार्न पाईने र कुन नपाईने भन्ने उल्लेख नभएकाले यस्ता दुर्लभ प्रजातीका माछा मारिने र काटीने गरेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख तथा बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताए ।

0 comments

Write Down Your Responses