बैंकका अध्यक्ष प्रकाश र अन्नपूर्णका कार्यकारी मिलेर अनियमीतता , होटलको नाउँमा बैंकबाट पाँच करोड कर्जा


होटलको नाउँमा बैंकबाट पाँच करोड कर्जा
काठमाडौं । लुम्बिनी बैंकका अध्यक्ष प्रकाश श्रेष्ठ, अन्नपूर्ण होटलका कार्यकारी अध्यक्ष कपिल राणा र सृजना राणासहितको त्रिपक्षीय मिलेमतोमा करोडौँ रुपैयाँको कर्जा अपचलन भएको खुलेको छ । होटलका कार्यकारी अध्यक्ष राणाले अन्नपूर्ण होटलको नाउँमा लुम्बिनी बैंकबाट पाँच करोड रुपैयाँभन्दा बढी कर्जा लिएका थिए ।
कर्जा दिनको लागि प्रमुख भूमिका खेल्ने अध्यक्ष श्रेष्ठ बैंकको कर्जा समितिमा पनि अध्यक्ष रहेका छन् भने मचान वाइल्डलाइफ रिसोर्टको समेत अध्यक्ष हुन् । श्रेष्ठले आफ्नो व्यक्तिगत फाइदाको लागि निक्षेपकर्ताहरुको निक्षेप रकमको दुरुपयोग गर्दै अधिकार क्षेत्रभन्दा बाहिर गएर कर्जा दिएका हुन् । कर्जा दिएबापत श्रेष्ठले मचान वाइल्डलाइफको नाउँमा चितवनमा रहेको आठ बिघा जग्गा राणाद्वयका निजी कम्पनी अन्नपूर्ण होल्डिङ्सको नाउँमा लिज ट्रान्सफर गरिदिएका छन् ।
यसको भुक्तानी भने लुम्बिनी बैंकबाट अन्नपूर्ण होटलको नाउँमा कर्जा दिएर राणाद्वयको अन्नपूर्ण होल्डिङ्समार्फत पुनः बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले लिएका छन् । अन्नपूर्ण होल्डिङ राणाद्वयको निजी कम्पनी भएको र उनीहरुले विभिन्न बैंकसँग होटेलको नाउँमा कर्जा लिँदै होल्डिङ्स कम्पनीमार्फत चलाउने गरेका छन् । आर्थिक दैनिकमा समाचार छ ।
स्रोतका अनुसार अध्यक्ष श्रेष्ठले आफ्नो व्यक्तिगत फाइदाको लागि नेपाल ट्रष्टमा जानुपर्ने अन्नपूर्ण होटलको नाउँमा कर्जा दिएर, जग्गाको लिज ट्रान्सफर गरी घुमाउरो पारामा करोडौँ रुपैयाँ खाएका छन् । यसबाट प्रत्यक्षरुपमा राणाद्वय र श्रेष्ठले फाइदा भएता पनि होटललाई भने करोडौँ रुपैयाँ कर्जा बोकाइएको छ । चुक्ता पुँजी दुई अर्ब आठ लाख ३५ हजार रुपैयाँ मात्र रहेको बैंकमा मचान वाइल्डलाइफ कम्पनीको दुई दशमलव ५१६२ प्रतिशत सेयर लगानी रहेको छ ।
संस्थापक सेयरधनी समूहको ६६ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३४ प्रतिशत सेयर लगानी रहेको बैंकमा सो कर्मचारी सञ्चय कोषको १४ दशमलव ५५४३ प्रतिशत, मंगल कलश इन्भेष्टमेन्ट कम्पनी पुल्चोकको १२ दशमलव १५८४ प्रतिशत, हेटौंडा इन्भेष्टमेन्ट एण्ड ट्रेडिङको तीन प्रतिशत सेयर लगानी रहेको छ । यसबाहेक उमेश प्रसाद पन्त, दरशरथलाल श्रेष्ठ, सुमन राजभण्डारी सुर्वणप्रभा बज्राचार्य लगायतका व्यक्तिहरुको करोडौँ रुपैयाँ लगानी रहेको छ ।
सर्वसाधारणको सेयरधनी समेतको लाखौँ रुपैयाँ सेयर लगानी रहेको उक्त बैंकमा चालू आवको पुुस मसान्तसम्ममा साना तथा ठूला समेत गरी सबै निक्षेपकर्ताहरुको १७ अर्ब ५३ करोड ४९ लाख २१ हजार रुपैयाँ निक्षेप रहेको छ । ‘तर बैंकका अध्यक्ष श्रेष्ठ र बैंकको प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त समेतले विभिन्न आर्थिक प्रलोभनमा परेर राणाद्वयजस्तो व्यक्तिलाई कर्जा दिनथालेपछि निक्षेपकर्ताहरुको निक्षेप रकम कसरी सुरक्षित हुन्छ रु’, स्रोतले भनेको छ । बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिसम्ममा १५ अर्ब ६५ करोड ६७ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १७ करोड ३८ लाख रुपैयाँ मात्र खुद मुनाफा आर्जन गरेको बैंकले सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा पाँच करोड ६८ लाख ११ हजार रुपैयाँ छुट्याएको छ । पछिल्लो समय बैंकको धेरैजसो कर्जा खराब हुँदै गएका कारण आगामी समय यस्तो प्रोभिजन रकम निकै उच्च हुन्छ, स्रोतले भनेको छ ।बैंकको आम्दानी प्रमुख स्रोत उच्च शिक्षाको लागि अष्ट्रेलिया, बेलायत, अमेरिका लगायतका मुलुकमा जाने विद्यार्थीहरुको खातामा रकम देखाउने र यसबाट अत्यधिकमात्रामा ब्याज लिने गरेको समेत स्रोतले बताएको छ ।
पैसाको प्रलोभनमा बैंकले नक्कली डकुमेन्टलाई पनि सही भएको, खातामा पैसा छ भन्दै कागज बेचेकै भरमा वार्षिकरुपमा करोडौँ रुपैयाँ आर्जन गर्दै आएकोमा केही राष्ट्रका ठूला कलेज र विश्वविद्यालयहरुले लुम्बिनीको बैंकको डकुमेन्टलाई वैधानिकता दिन रोकेको समेत स्रोतले बताएको छ ।

0 comments

Write Down Your Responses