जथाभावी फोहोर फाले १ लाखसम्म जरिवाना

१९ मंसिर, काठमाडौं । जथाभावी फोहोर फाल्नेलाई महानगरपालिकाले पक्रँदै जरिवाना तिराउन थालेको छ ।
 खासगरी रातको समय सडक वा सार्वजनिकस्थलमा फोहोर फाल्नेहरू कारबाहीमा पर्न थालेका छन् । महानगरपालिकाले बिहीबार मात्र ४१ जना समातेर ७६ हजार ५ सय रुपैयाँ जरिवाना तिराएको राजधानीमा खबर छ । ‘घर-पसलबाट निस्केको फोहोर सडकमै फाल्दै गरेको अवस्थामा तत्काल समातेर जरिवाना तिराएका हौं,’ नगर प्रहरीप्रमुख धनपति सापकोटाले भने, ‘महानगरीय प्रहरी वृत्तबाट खटिएको टोलीको सहयोगमा उनीहरू समातिएका हुन् ।’ 


फोहोरमैला व्यवस्थापन ऐन, ०६८ को परिच्छेद ९ मा सडक वा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ । तर, महानगरपालिकाले हाल प्रत्येकबाट बढीमा २ हजार रुपैयाँ मात्र जरिवाना गराउँदै आएको छ । सापकोटाका अनुसार एकपटक कारबाहीमा परेको व्यक्तिले पुनः फोहोर फालेको फेला परे जरिवाना दोब्बर गरिँदै लगिनेछ । यसका लागि कारबाहीमा परेको व्यक्तिको सूची बनाएर राखिएको उनी बताउँछन् । 

एक साताअघि काठमाडौंमा सम्पन्न १८औं सार्क शिखर सम्मेलनका बेला फोहोरमैला व्यवस्थापनको जिम्मा महानगरले लिएको थियो । त्यस क्रममा उसले ‘टिपनटापन कार्यक्रम’समेत चलाएको छ । जसअनुरूप राजधानीको मुख्य सडककिनारमा फोहोर टिप्दै हिँड्ने ९० कर्मचारी खटाइएको थियो । बिहान १० देखि बेलुकी ५ बजेसम्म काम गर्ने ती कर्मचारीले सडकमा फोहोर भेटिनासाथ टिप्ने गर्थे । महानगरले हाल यो कार्यक्रमलाई निरन्तरता दिएको छ भने फोहोर फाल्नेलाई कडा निगरानी राख्न थालेको छ । तैपनि, यसलाई उसले प्रचारात्मक अभियानअनुरूप राखेको छ ।

0 comments

Write Down Your Responses