केपी ओलीलाई प्रचण्डको प्रश्‍न-धरहरा प्यारो कि संविधान ?

काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमालेका अध्यक्ष केपी ओलीलाई धरहरा प्यारो कि संविधान भन्ने प्रश्न गरेका छन्। उनले यो प्रश्न ओलीसँग नभई संविधानसभा अध्यक्ष सुवास नेम्बाङसँग गरेका हुन्।
 
नेम्बाङले वैशाख ६ गते बस्ने संविधानसभाको बैठकसम्म सहमति गरौं भन्दै सर्वदलीय बैठक राखेको समयमा ओली सोमबार अपराह्न धरहरा चढ्न गएपछि दाहालले यस्तो प्रश्न राखेका थिए। 

ओलीले दुई सय १३ खुड्किलाको धरहराको सातौं तला चढिरहँदा दाहालले सभाध्यक्षलाई भन्दै थिए, 'ओलीजीका लागि धरहरा चढ्नु ठूलो कुरा हो कि संविधान निर्माण?'
 
संविधानसभा भवन नयाँबानेश्वरमा प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा सञ्चारकर्मीबीच दाहालले भने, 'सत्तापक्षका प्रमुख नेता ओली नै बैठकमा अनुपस्थित हुनुले उहाँले संविधान निर्माणमा आफ्नै कुरा थोपरेको मात्र देखियो। 


 
संविधानका लागि सबै पक्षले आआफ्नो स्थानबाट बलिदान गर्न सक्नुपर्छ। बलिदानले मात्र सफलतामा पुगिन्छ।' संविधान निर्माणका लागि कुनै पनि बलिदान गर्न आफू तयार रहेको तर हिजोका सम्झौता, सहमति र समझदारीबाट पछि हट्न भने नसक्ने दाहालले बताए।
 
संविधान किन बनेन भन्ने जिज्ञासामा दाहालले भने, 'समय नपुगेर होइन, नचाहेर हो। प्रमुख पार्टीका प्रमुख नेताहरूमा इच्छाशक्ति र दृष्टिकोणको अभावले गर्दा नै हो।'
 
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका लागि क्लिकमात्र गर्न बाँकी छ भन्नुको अर्थ स्पष्ट गर्न आग्रह गर्दा दाहालले भने, 'विषय र दृष्टिकोणबिनाको क्लिकको अर्थ छैन।
 
उनले सहमतिमा संविधान निर्माण गर्न चैत २४, २५ र २६ गतेको तीनदिने नेपाल बन्दमध्ये २५ र २६ गतेको बन्द फिर्ता लिएको बताए।
 
एमाले उपाध्यक्ष भीमबहादुर रावलले अध्यक्ष पूर्वनिर्धारित कार्यक्रमअनुसार धरहरा चढ्न जानुपरेकाले सभाध्यक्षले डाकेको सर्वदलीय बैठकमा उपस्थित हुन नसकेको बताए।
 
राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६ गतेसम्मको समय सहमतिका लागि उपयोग गर्नुपर्ने बताए। कांग्रेस उपसभाति रामचन्द्र पौडेलले संविधान निर्माण कार्यतालिका बनाएर अघि बढ्नुपर्ने धारणा बैठकमा राखेको बताए।
 
 मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एमालेका अध्यक्षलगायत शीर्ष नेताहरू किन बैठकमा आएनन् भन्ने प्रश्न गरेका थिए।
 
प्रधानमन्त्री कोइरालाले ३० दलीय मोर्चाको आन्दोलनमा मुलुकलाई अराजकतातर्फ लग्ने भन्ने सोच भएकै हो तर दाहाल, गच्छदारलगायतका नेताको सुझबुझका कारण त्यस्तो हुन रोकिएको भन्दै धन्यवाद दिएका थिए।

source: annapurnapost.com

0 comments

Write Down Your Responses