भोटेकोशीमा भेटियो बेपत्ता कुमार तामाङको ज्याकेट

दिनेश थापा
२७ चैत, सिन्धुपाल्चोक । सशस्त्र प्रहरीले बेपत्ता बनाएको भनिएका सिन्धुपाल्चोक हगाम गाविसका कुमार तामाङ अझै फेला परेका छैनन् । उनले लगाएको ज्याकेट भोटेकोशीको किनारमा फेला परेको छ ।
कुमार तामाङ
कुमार तामाङ
कुमार चीनको सीमा क्षेत्रका झोले व्यापारी मध्येका थिए । उनलाई नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीले हत्या गरेको स्थानीयको आरोप छ ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका युवक बेपत्ता भएको भनी उनका आफन्तहरुले अवस्था सार्वजनिक गर्न माग गर्दै आन्दोलनमा उत्रिएपछि त्यसको छानबिन गर्न समिति गठन गरिएको छ ।
तामाङको अवस्था सार्वजनिक गर्ने माग गर्दै उनका आफन्त र तातोापनीका स्थानीयसमेत आन्दोलनमा उत्रिएपछि समस्या समाधानका लागि छानबिन समिति गठन गरिएको हो ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा ११ सदस्यीय छानबिन समिति गठन भएपछि सशस्त्र विरुद्ध गरिएको आन्दोलन रोकिएको छ । छानविन समितिमा विभिन्न क्षेत्रका प्रतिनिधिहरु सहभागी छन् ।
हगाम गाउँ विकास समिति-७ का कुमार तामाङलाई गत बुधबार उनी बस्ने डेराबाटै सशस्त्रले नियन्त्रणमा लिएको उनका आफन्तहरुले दाबी गरेका छन् ।
प्रहरीले भने नेपालबाट चीनको खासातर्फ अवैधरुपमा ग्यास लैजान लागेका बेला नियन्त्रणमा लिएको बताएको छ ।
तामाङलाई नियन्त्रणमा लिएपछि सशस्त्रले बाँकी ग्यास कता छ भनेर सोधेको र बाँकी ग्यास देखाउन लैजाँदै गर्दा तामाङ बीचबाटोबाटै भागेको प्रहरीको दाबी छ ।
जिल्ला प्रहरी प्रमुख डीएसपी दीपकराज खरेलले सशस्त्रलाई ग्यास देखाउन जाने क्रममा तामाङ वीचबाटोबाटै भागेको बताए ।
‘रातको समय थियो, भाग्ने क्रममा उनी खोलामा पनि परेको हुन सक्छन्’, खरेलले भने, ‘सशस्त्रका चार जवानहरुकै अगाडि उनी भागेको देखिन्छ ।’
तामाङका आफन्तहरुले भने सशस्त्र प्रहरीले उनलाई डेराबाटै नियन्त्रणमा लिई हत्या गरेर भोटेकोसीमा फालेको आरोप लगाएका छन् ।
तामाङका आफन्त छिरिङ दोर्जे तामाङले भने, ‘कुमारले लगाएको ज्याकेट भोटेकोसी नजिकै फेला परेको छ, त्यसैले उनको हत्या गरी फालिएको हो ।’
पक्राउपछि उनलाई निर्घात कुटेर हत्या गरिएको आरोप लगाउँदै तामाङले नियन्त्रणमा लिने चारजना सशस्त्र प्रहरीलाई निलम्बन गरेर कारवाही गर्नुपर्ने र बेपत्ताको अवस्था सार्वजनिक हुनुपर्ने माग राखेका छन् ।
नेपाल प्रहरी र सशस्त्रले भोटेकोशी आसपासमा हराएका कुमारको खोजी गरे पनि फेला नपरेको प्रहरीले जानकारी दिएको छ । नेपालबाट खासासम्म ग्याँस लैजाँदा राम्रै आम्दानी हुने देखेपछि विगत एक महिनादेखि कुमार नेपालबाट खासासम्म ग्यास लैजाने काममा सक्रिय थिए ।
सशस्त्र प्रहरीसँग सीमाक्षेत्र असन्तुष्टि
सरकारले दुई देशवीचको सीमा सुरक्षार्थ सशस्त्र प्रहरीलाई खटाएपछि नेपाल-चीन सीमा तातोपानीमा सशस्त्र प्रहरी तैनाथ भएको लामो समय भइसकेको छ । तर, त्यहाँ अहिलेसम्म सशस्त्र प्रहरी र स्थानीयवासीवीच राम्रो सम्बन्ध कायम हुन सकेन ।
यसअघि भन्सारमा नेपाली सेना बस्ने गरे पनि सशस्त्र युद्धपछि यसको जिम्मा सशस्त्र प्रहरीले पाएको हो । तातोपानीमा सशस्त्र आएदेखि नै स्थानीय र प्रहरीबिच राम्रो सम्बन्धको विकास हुन सकेको छैन ।
सशस्त्र प्रहरीले झोले पोके अर्थात् साना व्यापारीहरुलाई कडाइ गर्न सुरु गरेपछि झोले पोके व्यापारीहरुले सधैं सशस्त्रको आलोचना गर्दै आएका छन् । सशस्त्रले झोले पोके व्यापारीहरुलाई अलिकति पनि मानवीय संवेदना पनि नराखी ‘क्रूर’ व्यबहार गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
सशस्त्रले स्थानीय साना व्यापारी तारा तामाङको गोली प्रहार गरी हत्या गरेपछि सशस्त्रलाई स्थानीयको हेर्ने दृष्टिकोण नै बदलिएको तातोपानीका स्थानीयको भनाइ छ । तामाङको ०६० मा सशस्त्रले गोली प्रहार गरी सीमा नाकामा हत्या गरेको थियो ।
तामाङको हत्यापछि बितेका ११ वर्षमा सशस्त्र र स्थानीय व्यापारी व्यवसायीहरुको धेरैपटक लफडा भइसकेको छ ।
सानालाई मात्रै दुःख दिएको गुनासो
सशस्त्र प्रहरीले ठूला व्यापारीलाई केही नगर्ने तर साना व्यापारीहरुलाई देखी नसहने व्यवहारका कारण पनि सीमामा सशस्त्रसँग सधैं समस्या हुने गरेको स्थानीयको गुनासो छ । सानालाई देखी नसहने र ठूलालाई केही नगर्ने कारण पनि ठूलो समुदाय सशस्त्रसँग नकारात्मक छन् तातोपानीका एक स्थानीयले भने ।
नाकाका ठूला व्यापारीहरु र सशस्त्र प्रहरीबीच ठाकठुक भएका त्यति धेरै घटना बाहिर आएका छैनन् । तर, सानाहरुसँग सधै परिरहन्छ सीमामा ।
लामोसाँघु र अँधेरीमा रहेको सशस्त्रको व्यवहार पनि सानाहरुलाई नै थिचोमिचो हुने गरेको आरोप लाग्दै आएको छ । तातोपानी नाकामा तस्करी हुने गरेको लामो समय भइसक्यो । तर, सशस्त्रले ठूला तस्करीहरुबाट सायद अहिलेसम्म सामान बरामद गर्न सकेको छैन ।
एक सिलिन्डर ग्यास, एक बोरा कपडा यस्तै-यस्तै भन्दा अहिलेसम्म केही गर्न नसकेको स्थानीयको आरोप छ ।
‘दैनिक जसो करोडौंको सुन तस्करी भइरहेको छ खै त सशस्त्रले समात्न सकेको ?’, एक स्थानीयले भने, ‘ठूला तस्करीहरुसँग नै सशस्त्र मिलेको हुन्छ अनि सानालाई समाएर नाटक गर्छ ।’
्नेपालबाट अवैध रुपमा ग्यास निकासी भएपछि त्यसलाई रोक्ने प्रयास गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । तर, सशस्त्र प्रहरीहरु भने आफूहरुको काम तस्करी नियन्त्रण गर्ने र सीमाको सुरक्षा गर्ने भएकाले सानाठूला दुबै तस्करहरुलाई नियन्त्रण गर्ने काम गरिरहेको दाबी गर्छन् ।

0 comments

Write Down Your Responses