बैंसमा गायिका विमला राई: बाटोमै लभ पर्‍यो

फोटो :गायिका बिमला राई
गायन यात्राको प्रारम्भमा गुरु गोपाल योञ्जनका गीतमा विमला राईले थुप्रै कोरस गाइन्। २०४० सालतिर चलचित्र 'कान्छी'को शीर्ष गीत 'कान्छी हो कान्छी'मा स्वर दिएपछि एउटै गीतले उनलाई चिनायो। 
 
हालसम्म दुई दर्जनभन्दा बढी गीतमा स्वर दिएकी उनले पाँचवटा एकल एल्बम श्रोतामाझ ल्याइसकेकी छन्।
 
गायन र नृत्यमा विशेष दखल भएकी विमला र अभिनेत्री मिथिला शर्माको जोडी निकै चर्चित मानिन्छ। प्रतिभावान् गायिकाको छवि बनाएकी विमला राई बैंसमा कस्ती थिइन् त, उनकै शब्दमा :
 
६ कक्षामै गीतसंगीत सिर्जना
मैले आफ्नो विद्यालय जीवन कालिङपोङमा बिताएँ। सानैदेखि मलाई संगीतमा रुचि थियो। भगवान्को वरदानजस्तै लाग्छ, कक्षा ६ पढ्दादेखि नै म गीतसंगीत सिर्जना गर्थें। 
 
कालिङपोङमा कुनै पनि संगीत विद्यालय थिएन। त्यहाँबाट कोलकाता नजिकै भएकाले संगीत र नृत्य सिक्न हाम्रो लागि सस्तो र राम्रो मानिन्थ्यो।
 
 म एसएलसीपछि कोलकातास्थित शान्ति निकेतन विश्व भारतीमा संगीत सिक्न गएँ। त्यहाँबाट संगीतको स्नातक (चारवर्षे कोर्स)मा भर्ना भएँ।
 
गर्मी सहन नसकेर रुँदा
कलेज सुरु गरेपछिका केही दिन भाषा नबुझ्ने भएकाले असाध्यै गाह्रो भयो। 
 
त्यसमाथि म चिसो ठाउँ कालिङपोङमा बसेको मान्छे एक्कासि गर्मी ठाउँ (कोलकाता) पुगेपछि अब कसरी बस्ने यस्तो ठाउँमा बेकार आएछु भन्ने लाग्यो। 
 
अचाक्ली गर्मीका कारण कतिपटक रोएकी छु। पछि विस्तारै बंगाली साथीहरूसँग भाषा सिकेर आफ्ना कुरा पनि भन्नसक्ने भएँ। 
 
उनीहरू नेपाली दिदीबहिनीजस्तै मिलनसार थिए।
 
घरायसी स्वभाव
हिजोआजका युवाभन्दा म अलि परिपक्व थिएँ। आफ्नो पढाइ र भविष्यका बारेमा धेरै सोच्ने, भाइबहिनी हुर्काउने र आमालाई भान्छामा सघाउने गर्थें।
 
 घुमफिर गर्ने, रमाइलो गर्ने मेरो स्वभाव थिएन। सधैं स्वाभिमानले बस्ने घरायसी खालको मेरो स्वभाव थियो।
 
गर्व लाग्न थाल्यो
समय बित्दै गयो। घुलमिल पनि बढेकाले रमाइलो पनि लाग्न थाल्यो। पछि त यति ठूलो इन्स्टिच्युटमा पढ्न पाएकोमा गर्व लाग्न थाल्यो। भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोरले स्थापना गरेको शान्ति निकेतनको वातावरण वर्णन गरेर साध्य छैन। 
 
एकदमै शान्त र सुन्दर वृन्दावनजस्तै। जताततै रातो माटो अनि गाडीभित्र पस्न नपाउने हुनाले शान्त पनि। भुइँमै बसेर संगीत सिक्दाको आनन्द बेग्लै हुन्थ्यो।
 
शृंगारमा सोख भएन
शान्ति निकेतनमा हामीलाई सारी अनिवार्य थियो। मैले सानैदेखि सारी लगाउन सिकेँ। 
 
कलेजमा मणिपुरी शास्त्रीय नृत्य लिएकाले नाच्न सजिलो हुन्छ भनेर कहिलेकाहीँ कुर्ता सुरुवाल पनि लगाउँथेँ। 
 
घरमा बसेको बेलामा भने कहिले मिडी र कहिले जामा लगाइन्थ्यो। शृंगारमा सोख थिएन। आँखा चिम्से भएकाले ल्याक्मेको पेन्सिलले कोर्ने गर्थें।
 
केटाहरू मौका छोप्थे
चलचित्र हेर्दा नायक असाध्यै मन पर्थ्‍यो। तर, मेरो स्वभाव चञ्चले र चुलबुले नभएकाले होला, मलाई कलेजमा चाहिँ कसैले पनि प्रेम प्रस्ताव राखेन।
 
कतिले दिदी त कतिले बहिनी भनेर बोलाउँथे। चुलबुले केटीहरूलाई चाहिँ केटाहरू मौका छोप्थे। 
 
म पढ्न आएको मान्छे, मैले त्यसो गर्न हुन्न भनेर मेरो ध्यान संगीत सिक्ने काममै केन्द्रित भयो।
 
प्रेमपत्र आदानप्रदान भएन
पढाइ सकेर काठमाडौं आएपछि तत्कालीन राजा वीरन्द्रको जन्मोत्सवका अवसरमा महेन्द्र पुलिस क्लबमा मैले अतिथि कलाकारका रूपमा मिथिला शर्मासँग नृत्य गर्ने कार्यक्रम थियो। 
 
ट्रेकिङ एजेन्सीमा काम गर्ने छिरिङ लामा पनि टिकट काटेर सो हेर्न आउनुभएको रहेछ। उहाँलाई म राम्री लागेछु। 
 
सँगै बसेको साथीले 'तैंले त खुब हेरिस् नि, म कुरा मिलाइदिऊँ' भनेर जिस्क्याउनुभएछ। पछि साथीमार्फत भेटघाट भयो।
 
त्यति बेला म कान्ति ईश्वरी विद्यालयमा पढाउँथेँ। विद्यालय जान म गैरीधाराबाट निस्कन्थेँ, उहाँ पनि काममा जान लैनचौरबाट हिँड्नुहुन्थ्यो।
 
 बाटोमा भेट हुन्थ्यो। एक दिन दुई दिन गर्दै बिस्तारै नजिकिँदै गयौं।
 
म उहाँको घरमा पनि जान थालेँ। आमाले मलाई मन पराउनुहुन्थ्यो। यही क्रममा उहाँले प्रेम प्रस्ताव राख्नुभयो। तर, प्रेमपत्र आदानप्रदान भएन। 
 
चिनजान भएको केही वर्षपछि २०४० साल माघ १२ गते हामी विवाहबन्धनमा बाँधियौं।
- See more at: http://annapurnapost.com/News.aspx/story/10874#sthash.frYck8SR.dpuf

0 comments

Write Down Your Responses